Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २७ असार २०७७ । नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या घट्दो क्रममा रहेको छ । छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको बताए ।

यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए ।
यस्तै, गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४ सय ३१ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ६ सय ४८ जनाको नमुना परीक्षण गरिएको छ भने, हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा २४ हजार ९७ जना व्यक्तिहरु रहेका छन् भने आईसोलेसनमा ८ हजार २ सय ३९ जना व्यक्तिहरु उपचाररत रहेका छन् ।
यसैबीच, कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये २ जना काठमाडौं र १ जना सिन्धुपाल्चोकका रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । मृगौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया