Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

एजेन्सी
जेनेभा, २४ असार २०७७। कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले बताएको छ । डब्लूएचओले हावामा रहने साना कणमार्फत कोरोना भाइरस फैलिन सक्ने प्रमाण देखिँदै गएकाले यो तथ्यलाई स्वीकार गरेको हो ।

भीडभाड हुने ठाउँ, बन्द कोठा वा हावा पास नहुने ठाउँमा हावाबाट कोरोनाको संक्रमण सर्दैन भनेर भन्न नसकिने डब्लूएचओको कोरोनाभाइरस संक्रमण नियन्त्रण विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेग्रान्जीलाले बताइन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार यसको शतप्रतिशत प्रमाण जुटाउन र बुझ्न अझै समय लाग्ने र यसको खोजका लागि काम जारी राखिएको छ ।

हावाका साना कणमा पुगेको कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने केही वैज्ञानिकहरुले दाबी गरेका थिए । उनीहरुले कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह समेत गरेका थिए ।

सोमबार कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरुले डब्लूएचओलाई यसबारे खुलापत्र पठाएका थिए । यदि यो कुराको आधिकारिकता पुष्टि भएमा कोरोना भाइरस रोकथामसम्बन्धी निर्देशिका परिवर्तन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

डब्लूएचओका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले हाच्छयुँ वा खोक्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्ने बताउँछ । तर वैज्ञानिकहरु कोरोना भाइरसको संक्रमण फैलनुमा यसलाई मात्र कारक मान्‍न तयार छैनन् ।

यदि यो पुष्टि भएको खण्डमा मास्क प्रयोगमा व्यापकता गर्ने, सार्वजनिक यातायात, बार, रेस्टुरेन्टलगायतका भीड हुने ठाउँमा सामाजिक दूरीको कडा पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया