Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, २१ असार २०७७ । कोरोना भाइरस(कोभिड-१९)को जोखिमका कारण रोकिएको दोस्रो चरणको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम असार २२ र २३ गते सञ्चालन हुने भएको छ ।

दोस्रो चरण अन्तर्गत झापाको गौरादह नगरपालिका भित्रका ६ महिनादेखि ५ वर्ष सम्मका ५ हजार ५ सय ५२ बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइन लागिएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

सोमबार र मंगलबार दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ए र जुकाको औषधी कार्यक्रममा गौरादह नगरपालिका वार्ड नं. १ मा ७ सय २१ जना, वार्ड नं. २ मा ३ सय १३, वार्ड नं. ३ मा ३ सय ९४, वार्ड नं. ४ मा ७ सय १४, वार्ड नं. ५ मा ७ सय ६६, वार्ड नं. ६ मा ७ सय ८२, वार्ड नं. ७ मा ६ सय ३५, वार्ड नं. ८ मा ५ सय ८५ र वार्ड नं. ९ मा ६ सय ४२ जना गरि ५ हजार ५ सय ५२ जना बालबालिकाहरु रहेको जनाएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने छ भने, १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी निशुल्क खुवाइने श्रेष्ठले बताए । नगरपालिका भित्रका बालबालिकाहरुलाई भोलिबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनको लागि ५१ जना महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिने जनाएको छ ।

भिटामिन ए ले बालबालिकाको रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउनुका साथै ३० प्रतिशत बालमृत्युदर कम गराउँछ । यसको सेवनले बालबालिकालाई कुपोषण हुन नदिने, रतन्धोबाट बचाउने, पुड्कोपनलाई कम गराउन पनि भिटामिन ‘ए’ को निकै ठूलो भूमिका हुन्छ । यस्तै, यसले दादुरा तथा झाडापखाला जस्ता रोगहरु लाग्नबाट बचाउने हुनाले ६ महिना पुरा भएको बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनु पर्दछ ।

यस्तै, बालबालिकालाई खुवाइने जुकाको औषधीले भने, बालबालिकाको पेटमा भएको अंकुसे किरालाई मार्ने काम गर्दछ । जुकाले बालबालिकाको पेटमा बसेर रगत चुस्ने हुँदा बालबालिकाको शरीरमा रगतको कमी हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको हो ।

सबै वडाहरुमा महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरिएको हुँदा आफ्नो बालबालिकालाई नजिकैको महिला स्वास्थ्य सवयं सेविका सँग सम्पर्क गरि भिटामिन ए र जुकाको औषधी खुवाउनु हुन गौरादह नगर स्वास्थ्य शाखाले सुचना जारी गरेको छ ।

सरकारले हरेक वर्ष दुई चरणमा भिटामिन ‘ए’ खुवाउँदै आएको छ । कोभिड-१९ को संक्रमण र जारी लकडाउनका कारण वैशाखमा खुवाउनु पर्ने भिटामिन ‘ए’ कार्यक्रम प्रभावित भएको थियो ।

तपाईको प्रतिक्रिया