Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, २० असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालभरका २३ वटा प्रयोगशालमा परीक्षण गर्दा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ७२ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ४ सय १५ पुुगेको छ । यस्तै, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ४६ हजार २ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमती प्रदेशमा ५ सय २५, गण्डकी प्रदेशमा १ हजार १ सय ३३, प्रदेश ५ मा ३ हजार ९ सय ४२, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा ३३ हजार १ सय २५ जना व्यक्तिहरु रहेका छन् भने आईलेसनमा ९ हजार ४२ जना उपचाररत रहेका छन् । हालसम्म ५ सय १७ जना व्यक्तिहरु रेडजोनमा परेका छन् ।

यस्तै, कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।

त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया