झापा, १८ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमा १२ हजार ६ सय ३७ पुरुष र १ हजार ८ सय ८३ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ७३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३ सय ६४ पुरुष र १ सय ९ महिला रहेका छन् ।
गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ६ सय ६४ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० रहेको छ ।
गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ५ सय ३७ जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख ३७ हजार ७ सय ६४ जनाको नमुना परीक्षण गरिएको छ । अहिले देशका विभिन्न अस्पतालमा १० हजार १ सय ३७ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्तिहरु रहेका छन् ।
नेपालमा कोरना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत म्याग्दीका ४५ दिने शिशुको बुधबार मृत्यु स्वास्थ तथा जनसंख्या मन्त्रालयले औपचारिक पुष्टि गरेको छ । बिहीबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
म्याग्दीको बेनीनगरपालिका–४ घर भएका ती शिशु पोखराको एक अस्पतालमा जन्मेका थिए । जन्मेको केही दिनमा दूध खान नसक्ने लगायतका समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल काठमाडौं रिफर गरेको थियो ।
पछिल्लो एक महिनादेखि शिशुको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेकोमा बुधबार उनको घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेपछि शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ संयोजक सन्तकुमार दासले उनको शल्यक्रिया अघि गरिएको स्वाब परीक्षणमा शिशुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।