Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, १८ असार २०७७ । वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना महामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट दिन सुरु गरिएको हो ।

पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसद दाहालले बताए । उनले भने, ‘सिसिएमसीको निर्णयलाई टेकेर मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति दिनु भनेर निर्देशन दिएको छ । हामीले मन्त्रालयले भने अनुसार तत्कालका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेका छौँ । अब बिस्तारै नयाँ पनि सुरु होला । तर नयाँ कहिले खुल्छ भनेर अहिले नै भन्न सक्दिन ।’

कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ । काठमाडौंस्थित श्रम कार्यालयबाट बिहीबारदेखि नै पुनः श्रम स्वीकृति दिन थालिएको महानिर्देशक दाहालले बताए ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने सम्बन्धमा सेवाग्राहीले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने बताएको छ ।

काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २–२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको छ । साथै कार्यालय हातामा प्रवेश गर्दा मास्क अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गते बसेको वैठकले श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । यद्यपि श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति मात्रै दिन लागेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको तत्कलीन कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि वैदेशिक रोजगार विभागले फागुन ३० गतेबाट वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति लिनका लागि बन्द गरेको थियो ।

हवाई उडान बन्दका कारण श्रम स्वीकृति पाएपनि रोजगारीमा जान कठिन

सरकारले आगामी साउन ७ गतेसम्मका लागि सबैखाले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्द लगाएको छ । जसका कारण वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाएपनि सहजरुपमा अन्तर्राष्ट्रिय उडान नभएका कारण ती देशमा जान भने कठिन हुनेछ । यद्यपि यात्रुको सङ्ख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउनका लागि चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रम स्वीकृति लिएकाहरुले यात्रा गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया