Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, १६ असार २०७७। यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए। “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भने । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।
यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् ।

अनिवार्य तीनवटा विषयको पाठ्यपुस्तक लेखन कार्य चलिरहेको बताइएको छ । यी विषयका पुस्तक सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित हुनेछन् । यसअघि कक्षा ११ को पाठ्यपुस्तक सरकारी प्रयासमा लेख्ने र पुस्तक छाप्नेसमेत गरिएको थिएन । खासगरी कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि अनिवार्य विषयको हकमा पाठ्यपुस्तक लेखाउने परिपाटी सुरु गरिएको हो ।

ऐच्छिक विषयका हकमा विज्ञहरूलाई पाठ्यपुस्तक लेख्न आग्रह गरिएको र पुस्तक अध्ययन गरी स्वीकृति दिइने महानिर्देशक दाहालले जानकारी दिए। त्यसका लागि असारसम्म पाठ्यपुस्तककोे नमुना पठाउने र स्वीकृति लिन सक्ने समयावधि दिइएको छ । यसका साथै कक्षा ११ को अनिवार्य गर्न लागिएको सामाजिक अध्ययनको माध्यमसमेत नेपाली हुने भएको छ ।

सामाजिकमा नेपाली कला, संस्कृति र मौलिक पहिचानमूूलक विषयवस्तुको पठनपाठनका लागि नेपाली नै उपयुक्त हुने सुझावका आधारमा यस खालको निर्णयमा पुगिएको जानकारी अधिकारीहरूले दिएका छन् ।

पाठ्यपुस्तक लेखकहरूले भने कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने निर्णय सामयिक भएको तर पाठ्यपुस्तक लेखनलाई सरकारी स्तरमा मात्रै सीमित गर्न नहुने सुझाव दिएका छन् । पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले पाठ्यपुस्तक लेखनमा प्रतिस्पर्धात्मक वातावरण बनाइनुपर्ने स्पष्ट गर्दै यसले विद्यार्थीको ज्ञानको दायरा वृद्धि हुने बताए।गोरखापत्र

तपाईको प्रतिक्रिया