Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १५ असार २०७७ । अब नयाँ सिम कार्ड लिंदा, हराएर वा बिग्रिएर पुनः निकाल्दा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै दूरसञ्चार प्रदायकलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणको निर्देशनमा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्ने र सक्कल परिचयपत्र देखाउनुपर्ने व्यवस्था पनि गरिएको छ । अरूको परिचयपत्रको प्रतिलिपि लिएर सिम लिने र दुरुपयोग गर्न सक्ने सम्भावना भएको भन्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो । ‘एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैंकिङ, इमेल सेवा, फेसबुकलगायत सामाजिक सञ्जालमा समेत पहुँच पुग्न जाने र सुरक्षा खतरा बढ्ने भएकाले’ भन्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

सिम कार्ड बिक्रीवितरण गर्दा, हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिम कार्ड दिँदा अनिवार्य रुपमा ग्राहक स्वयं उपस्थित भई सक्कल परिचयपत्र देखाएर मात्रै सिम कार्ड दिन प्राधिकरणले भनेको छ ।

ग्राहक स्वयं उपस्थित हुन नसक्ने अवस्थामा वारेसनामा वा अख्तियारनामा लिएका आएको व्यक्तिलाई सिम कार्ड दिने व्यवस्था गर्न पनि भनिएको छ । प्राधिकरणले निरीक्षण गर्दा यो निर्देशन कार्यान्वयन नगरेको पाइए दूरसञ्चार ऐनअनुसार कारबाही हुने चेतावनी पनि निर्देशनमा दिइएको छ । प्राधिकरणले दिएको निर्देशन पालना नभए ५० हजार रुपैयाँसम्म कारबाही गर्न सकिने व्यवस्था छ ।

प्राधिकरणले यसअघि नै आफ्नो नाममा रहेको बाहेक अन्य व्यक्तिको नाममा रहेको सिम कार्ड प्रयोग गर्न उपभोक्तालाई समेत निर्देशन दिइसकेको छ ।
‘इन्टरनेटबारे गुनासो गर्न निस्शुल्क नम्बर राख’

इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट आउने गुनासो सम्बोधन गर्न पैसा नलाग्ने (टोल फ्री)नम्बर राख्नुपर्ने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरूलाई यस्तो निर्देशन दिएको हो ।

ग्राहकले इन्टरनेटमा आउने समस्या सम्बोधनका लागि सेवा प्रदायकलाई फोन गर्दा कैयौं मिनेट कुर्नुपर्ने र त्यसको शुल्क महँगो हुने गुनासो गर्दै आएका थिए ।

इन्टरनेट सेवाको अनुमतिपत्रको सर्तअनुसार ग्राहकसँग लिइने सेवा शुल्कसम्बन्धी विवरण पनि निःशुल्क उपलब्ध गराउन पनि प्राधिकरणले निर्देशन दिएको हो । सेवा प्रदायकहरूले प्राधिकरणको निर्देशन कार्यान्वयन गरेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया