Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, १३ असार २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार (आज) रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमा १० हजार ९ सय ४० पुरुष र १ हजार ३ सय ६९ महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५ सय ५४ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ४ सय ३४ पुरुष र १ सय २० महिला रहेका छन् ।

गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय ३६ पुगेको छ । जसमा १ सय १८ पुरुष र १८ महिला रहेका छन् । हालसम्म संक्रमण पुष्टी भएर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । जसमा २ हजार ५ सय ९२ पुरुष र २ सय ४२ महिला रहेका छन् ।

यस्तैगरि, गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ६ जनाको र आरडीटी विधिबाट ३ हजार ६ सय ८५ जनाको आरडीटी विधिबाट नमुना परीक्षण भएको छ ।
हालसम्म पीसीआर परीक्षण विधिबाट २ लाख १० हजार ८ सय ७७ जनाको परीक्षण भएको छ भने, आरडीटी विधिबाट २ लाख ९४ हजार ३४ जनाको नमुना परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालमा ९ हजार ४ सय ४७ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ६५ हजार ७ सय १२ जना व्यक्तिहरु रहेका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टायता नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले कैलालीका ५० वर्षीय एक पुरुषको कोरोनाबाट ज्यान गएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या २८ पुगेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया