Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १२ असार २०७७ । बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । शुक्रबार बिहान ११ः२० देखि सुरु भएको दोस्रो दिनको बैठकमा अध्यक्ष ओली उपस्थित नभएको एक नेताले जानकारी दिए । बैठक पुष्पकमल दाहालले अध्यक्षता गरेर सञ्चालन भएको छ ।

बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले आ-आफ्ना धारणा राखेका थिए ।

दोस्रो दिनको बैठकमा ओली अनुपस्थित भए पनि सचिवालयका नेताहरु र स्थायी कमिटीका अन्य नेताहरुले आफ्ना धारणा राख्नेक्रम चलिरहेको ती नेताले बताए ।

बैठकमा परराष्ट्रमन्त्री समेत रहेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा विवाद र समाधानका लागि सरकारले गरेका प्रयासबारे जानकारी गराएका छन् ।

बैठकमा प्रधानमन्त्री ओली नआएपछि सदस्यहरुले प्रश्न उठाएका थिए । त्यसपछि महासचिव विष्णु पौडेलले बैठक सुरु गर्दै गर्नु भन्ने सन्देश प्रधानमन्त्रीबाट आएको त्यहाँ सुनाएको ती नेताले बताए ।

तर, प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने सरकारका अन्य काममा व्यस्त भएका कारण प्रधानमन्त्री बैठकमा उपस्थित हुन नसकेको बताए ।

बैठकमा तय भएका ७ एजेन्डामा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड-१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् । विविधमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषय समेटिएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया