Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, ११ असार २०७७ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका कोटिहोमस्थित समर्पण भवनमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनको गर्ने तयारी सुरु भएको छ । ल्याबको अनुमति, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्वेवारी लिएको छ ।
ल्याब स्थापनाका विषयमा प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्याब सञ्चालनका लागि उक्त प्रतिवद्धता जनाएका छन् ।

अभियानकर्मीलाई जतिसक्दो छिटो पीसीआर मेशीन मगाएर काम अघि बढाउन आग्रह गर्दै मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बताए । संवाद समूह झापाको संयोजनमा बुधबार मन्त्री घिमिरे, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,एकका लागि एक अभियान लगायत साझेदार संस्थाको छलफलबाट कनकाईमा पीसीआर ल्याब सञ्चालनमा ल्याउने निर्णय गरिएको हो ।

यथाशीघ्र सरकारी मापदण्ड अनुसार ल्याब स्थापना गरी सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरिने एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
गिरीका अनुसार उक्त ल्याब सरकार–समुदाय–सहकारकिो साझेदारीको नमूना बन्नेछ । अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाइसकेको छ ।

उनले ल्याब राख्ने योजना बनाइएको भवनको मापदण्ड हेर्न र मूल्यांकन गर्न एकदुई दिनभित्रै प्राविधिक खटाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री घिमिरेले झापाको केन्द्रविन्दु भएकाले कोटिहोम क्षेत्र उपयुक्त भएको बताएका थिए । उनले छलफलपछि भवनको निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिमिरेले कोरोनाले निम्त्याएको महाविपत्तिको बेला एकका लागि एक अभियान मार्फत नागरिक र सामाजिक क्षेत्रमा भएको योगदान मुलुक मै प्रशंसनीय रहेको बताए । उनले कोटीहोमको समर्पण भवन पीसीआर ल्याव सञ्चालनका लागि सबैलाई पायक पर्ने उपयुक्त ठाउँ भएको बताए ।

उक्त ल्याव सञ्चालन भएपछि झापाका लागि मात्र होइन, आवश्यकता अनुसार प्रदेशका सबै जिल्लाका लागि सेवा पुग्ने मन्त्री घिमिरेले बताए । ‘तत्काल मेसीन खरिद लगायतका काम थाल्नुहोस्, ल्याव सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले लिनेछ’– मन्त्री घिमिरेले भने– ‘नागरिक स्तरबाट भएको यस्तो उल्लेखनीय कार्यको सराहना गर्दछु ।’

समर्पण भवनमा ल्याब स्थापना र सञ्चालन गर्ने यसअघि नै अभियानको बैठकले निर्णय गरेको थियो । त्यसमा झापामा राजनीतिक दलका प्रमुखहरुले सहमति जनाएका थिए भने मन्त्रीसँगको छलफलमा पनि उनीहरुको एक स्वर रहेको थियो । सबै दलका नेताहरुको एउटै आवाज थियो– महामारी नियन्त्रण गर्नका लागि अपरिहार्य र उपयुक्त स्थान कनकाईमा यथाशीघ्र पीसीआर ल्याव सञ्चालन गर्नुप¥यो । विधि पु¥याएर भए पनि यसको सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले लिनुप¥यो ।
छलफलमा नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस महासमिति सदस्य देउमान थेवे, झापा उपसभापित राम कट्टेल, जनता समाजवादी पार्टी झापाका अध्यक्ष अनुत राजवंशी, राप्रपा झापाका उपाध्यक्ष कमल खरेलले कनकाईको समर्पण भवनमा ल्याब राख्न पार्टीको प्रतिबद्धता जनाएका थिए ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि प्रदेश सरकारले जिम्वेवारी दिए स्थानीय सरकारको हैसियतले सो को सञ्चालनमा नगरपालिकाले जस्तोसुकै जिम्मेवारी लिन पछि नपर्ने बताए । उनले त्यसका लागि नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको र थप आइपरे तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
‘कोभिड–१९ नियन्त्रणका लागि एकका लागि एक अभियान मार्फत दाताहरुले गरेको योगदान, देखाएको उत्साह एवम् भावनाको कदर गर्दै समर्पण भवनमा पीसीआर ल्याव यथाशीघ्र सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइने छ’ –मन्त्री घिमिरेसहितको उपस्थितिमा भएको छलफलको निर्णयमा भनिएको छ ।

‘अभियानको तर्फबाट पीसीआर मेसिन खरिद लगायत तोकिएको मापदण्ड अनुसारको संरचना निर्माण कार्य अघि बढाउने, प्रदेश सरकारबाट सोको अनुमति, सञ्चालन, व्यवस्थापनको जिम्मा लिँदै मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी पीसीआर ल्याव सञ्चालन गरिनेछ’ –निर्णयमा अगाडि लेखिएको छ ।
मन्त्री घिमिरेले आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन तत्काल मिलाइने बताए । कोरोना महामारी नियन्त्रणका लागि संक्रमणको पहिचान नै पहिलो कार्य भएको भन्दै उनले ल्याव स्थापना अपरिहार्य रहेकोमा जोड दिए ।

सहकारी अभियन्ता तथा अभियानका सदस्य घनश्याम अधिकारीले सहजीकरण गरेको छलफलमा अभियानका संयोजक महेन्द्रकुमार गिरीले अभियानले हालसम्म गरेका काम र योजनाका बारे प्रकाश पारेका थिए भने सहसंयोजक विनोद बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।
अभियानका सदस्यहरु तथा साझेदार संस्थाका प्रतिनिधि लोकराज ढकाल, गणेश ढकाल, कुमार भट्टराई, लीला चिमरिया, निर्मल भट्टराई, कुमारमणि पोखरेल, शिव कँडेल, मिजास पोखरेल, सञ्जिव घिमिरे, विकास बस्नेत लगायतले समेत अभियानको अगुवाईमा हुने ल्याव सञ्चालनमा सहयोग पु¥याउन प्रदेश सरकारलाई आग्रह गरेका थिए ।
छलफलमा जिल्ला समन्वय समितिका झापाका प्रमुख सोमनाथ पोर्तेलले समेत आफ्नो धारणा राखेका थिए ।

ल्याब स्थापनाका लागि अभियानले ८५ लाख रुपैयाँ संकलन गरिसकेको छ । ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाज र झापा जिल्ला सहकारी संघको समन्वयमा २५/२५ लाख हजार रुपैयाँ प्रदान गरेका छन् भने विभिन्न वित्तीय संस्था तथा व्यक्तिगत र संस्थागत रुपमा सामाजिक संघसंस्थाले रकम सहयोग गरिरहेका छन् ।

यसैबीच झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।
कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ । प्रदेश १ मा संकलन भइरहेको ¥यालको नमुना संख्याको तुलनामा ल्याबको अभाव छ । प्रदेश १ को सबैभन्दा बढी कोरोना संक्रमित जिल्ला झापा हो ।

पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई २२ दिनसम्म बिहान, दिउँसो र बेलुका खानाखाजा खुवाएको थियो । झापाका स्थानीय र जिल्ला प्रशासन कार्यालयलाई एक हजार थान भिटिएम र दुई सय थान आडिटी किट प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया