Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

झापा, ११ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । जसमा १० हजार २० पुरुष र १ हजार १ सय ४२ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ३ सय ८६ पुरुष र ४८ महिला रहेका छन् ।

हालसम्म ७७ जिल्ला मध्ये संक्रमण फैलिएको जिल्ला ७६ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० रहेको छ । जसमा २ हजार ४ सय ३४ पुरुष र २ सय १६ महिला रहेका छन् ।
गत २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५ सय ४३ र आरडीटी विधिबाट ४ हजार १ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म पीसीआर परीक्षण विधिबाट १ लाख ९९ हजार ७ सय ३७ जनाको परीक्षण गरिएको छ भने, आरडीटी विधिबाट २ लाख ७५ हजार ७ सय ५१ जनाको परीक्षण भएको छ ।
अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ४ सय ८६ जना उपचाररत रहेका छन् । हाल सम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना व्यक्तिहरु रहेका छन् ।

यसैबीच,कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवनका ४९ वर्षीय पुरुष रहेका छन् ।

स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको असार १० गते राति मृत्यु भएको हो ।

त्यसैगरी महालक्ष्मी ५ ललितपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उनको असार ११ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो ।

बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जनाए ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकका १, बाँकेमा २, गुल्मीका ३, बाराका १, ललितपुरका २, अर्घाखाँचीका २, दैलेखका २, बाजुराका १, दोलखा १, पाल्पाका १, सुर्खेतका १, कैलालीका ३, डोल्पाका १, स्याङ्जाका २, चितवनका १, विरगञ्जका १ र पर्साका १ गरी २६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया