Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, ६ असार २०७७ । सरकारले वैदेशिक रोजगारीमा जानका लागि फेरि खुला गर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएका साथसाथै नयाँ रोजगारीमा जान पनि दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । विद्यार्थीहरुलाई पनि जान अनुमति दिने निर्णय गरिएको छ । तर त्यसका लागि शिक्षा मन्त्रालयको सिफारिश जरुरी पर्नेछ ।

सम्बन्धित देशको सरकार र रोजगारदाता कम्पनीले खर्च नब्यहोर्नेहरुलाई उद्दार गर्नका लागि गाइडलाइन बनाउन बैठकले श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थापनको जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

संक्रमितको संख्या बढेसँगै नयाँ स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले पेश गरेको योजना स्वीकृत गरिएको छ ।

स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय सिसिएमसी बैठकले गरेको छ । यो रकम प्रदेश सरकार मार्फत स्थानीय तहलाई उपलब्ध गराइने छ ।

देशभरका क्वारेन्टाइन स्थल सुधार गर्ने र दुई साताभित्र परीक्षण गर्ने निर्णय गरेको छ । यसको अनुगमन तथा सहजीकरणको जिम्मा प्रदेश सरकारलाई दिइएको छ । आइसोलेसन सेन्टरको व्यवस्थापन पनि प्रदेश सरकारले गर्नुपर्ने छ ।

तपाईको प्रतिक्रिया