Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ५ असार २०७७ । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्नमा प्रतिबन्ध लगाएको छ । शुक्रबार (आज) रातिदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँड्डुलमा प्रतिबन्ध लगाएको हो ।

गृह मन्त्रालयले बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड लागू गर्दै अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा पूर्णरुपमा रोक लगाएको हो ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिकरुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारेको गृह मन्त्रालयले जनाएको छ ।

रातिमा हुने हिँड्डुलको अनुगमन भने प्रहरीले गर्ने जनाइएको छ ।

त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।

उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणलगायतका काममा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको भन्दै सबैलाई सचेत बन्न पनि आग्रह गरेको छ । मन्त्रालयले अनावश्यकरुपमा हिँड्डुल नगर्नसमेत सचेत बनाएको छ ।

हिँड्डुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम् दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।

कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवत–जावत गर्दा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्न पनि गृहले भनेको छ ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन प्रोत्साहित नगर्न पनि गृहले भनेको छ । गृहको आदेश कार्यान्वयमा खटिएका सुरक्षा अधिकारीहरुलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया