Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

शान्ति सुब्बा

गौरादह, ५ असार २०७७ । झापाको गौरादह नगरपालिकाका क्वारेन्टाइनहरुमा बसेका ४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बुधबार १ जना जनप्रतिनिधि, २ जना स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका व्यक्तिहरु सहित ६१ जनाको पीसीआर परीक्षणका लागि नेजल र थ्रोट स्वाब संकलन गरि वि.पि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा ४१ जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएको गौरादह नगर स्वास्थ्य शाखा सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी  दिए ।

गौरादह नगरपालिका-९ बैगुन्धुरा अमर मा.वि को क्वारेन्टाइनमा बसेका १७ जना व्यक्तिहरु, १ जना जनप्रतिनिधि र २ जना स्वास्थ्यकर्मीको गरेर २० जनाको रिपोर्ट भने आउन बाँकी रहेको श्रेष्ठले बताए ।

यस्तै, क्वारेन्टाइनमा बस्नेहरुको कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षणका लागि पठाइएकोमा ४१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज बिदाई गरिएको छ ।

जसमा गौरादह-१ जनता मा.वि क्वारेन्टाइनमा बसेका १८ जना रहेका छन् । उनिहरु ७ महिनाको बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । जो १८ गतेदेखि जनता माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै, जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका १६ जना रहेका छन् । उनिहरु १७ देखि ६८ वर्ष उमेर समूहका छन् । जो २९ गतेदेखि यहाँको क्वारेन्टाइनमा बस्दै आएका थिए । यस्तै, महारानीझोडाको पुरानो स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका ७ जना छन् । उनिहरु २८ देखि ६२ वर्ष उमेर समूहका छन् । जो २७ गतेदेखि यहाँको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरूलाई क्वारेन्टाइनसँग सम्बन्धित वडाका वडाध्यक्षहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले फूलगुच्छा दिएर बिदाई गरेका छन् । उनीहरूलाई १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरी शर्तमा आज बिदाई गरिएको श्रेष्ठले बताएका छन् । आज बिदाई भएकाहरु मध्ये एक जना कुवेत बाट आएकी महिला रहेकी छन् भने, बाँकी सबै भारत बाट आएका हुन् । हालसम्म गौरादहमा १ महिला र ३ पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । जसमा भारतको सिक्कीम बाट आएका गौरादह-९ का ४१ वर्षिय पुरुष र गौरादह-९ कै विराटनगर बाट आएका २६ वर्षिय पुरुष गरि २ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

हाल आइसोलेसनमा १ महिला र १ पुरुष गरि २ जना रहेका छन् । जो कोभिड अस्पताल विराटनगरको आइसोलेसनमा उपचाररत १ महिला र मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको आइसोलेसनमा १ पुरुष उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया