Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ४ असार २०७७ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । जसमा ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ६ सय ७१ जनामा संक्रमण पुष्टि भएको बताए । जसमा ५ सय ९१ पुरुष र ८० महिला रहेका छन् । हालसम्म ७७ जिल्ला मध्ये संक्रमितहरु रहेको जिल्ला ७४ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ८६ रहेको छ । जसमा १ हजार ७२ पुरुष र १ सय १४ महिला रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ र पीसीआर विधिबाट १ लाख ५५ ह्जार ५ सय १८ नमुना परीक्षण गरिएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ७ सय ४६ र आरडीटी विधिबाट ९ हजार ५ सय ३२ नमुना परीक्षण गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १६ हजार २ सय १५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ४८ जना रहेका छन् । आज थप ४ जना गरि हालसम्म रेडजोनमा पर्नेको संख्या ५०३ रहेको छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणले थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिला रहेकी छिन् र अर्का एक कैलाली गोदावरी नगरपालिकाका ४ का ४६ वर्षीय पुरुष रहेका छन् ।
उनीहरुको मृत्यु कोरोनाबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती पुरुष सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए । उनको असार ३ गते मृत्यु भएको हो भने महिलाको नेपालगन्ज कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा असार २ गते मृत्यु भएको हो ।
मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा गौतमले पछिल्लो दुई जना गरी मृत्यु हुनेको संख्या २२ पुगेको बताए ।

तपाईको प्रतिक्रिया