Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
काठमाडौँ, १ भदौ । तत्कालिन एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच एकीकरणपछि स्थापनाकालिन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ ।
एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू राखेर ‘अनेरास्ववियू’ राख्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले यसअघि तयार भएको विधान, राजनीतिक तथा शैक्षिक प्रतिवेदनलाई पास गरेको छ ।
एकतापछि संगठनको केन्द्रीय समितिको संख्या ४९९ रहनेछ, जसमा पूर्व अनेरास्ववियुबाट २६० र पूर्व अखिल क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ ।
यसअघि अनेरास्ववियुको कमिटी २०० सदस्यीय थियोे भने क्रान्तिकारीको कमिटी २४३ सदस्यीय थियोे । त्यस्तै यसअघि अनेरास्ववियुले ‘यु’ लेख्थ्यो भने अनेरास्ववियू (क्रान्तिकारी) ले दिर्घ ‘यू सहित ब्राकेटमा क्रान्तिकारी लेख्दै आएको थियो ।
अंग्रेजी नाममा अनेरास्ववियुले फ्रि र क्रान्तिकारीले इन्डिपेन्डेन्ट लेख्ने गरेकोमा अब एकीकृत नाममा इन्डिपेन्डेन्ट लेख्ने सहमति भएको छ । एकीकृत संगठनको नेतृत्वका बारेमा अर्को वैठकले निर्णय गर्ने बताइएको छ ।
एकताका लागि गठित कार्यादलमा पूर्व एमाले निकट अनेरास्ववियुको तर्फबाट रविन्द्र अधिकारी र नविना लामा एवम् पूर्व अखिल(क्रान्तिकारी) बाट रमेश मल्ल र रञ्जित तामाङ छन् ।
तपाईको प्रतिक्रिया