Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पाँचथर, २ असार २०७७ । पाँचथरमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएको छ । फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए ।

उनी पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा ३२ जेठदेखि बसेकी थिइन् । उनको सोमबार स्वाब संकलन गरी पठाइएकामा आज रिपोर्ट आएको सुवेदीले बताए ।

कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टाइनमा राखिएका अन्य तीन जनामा भने कोरोना संक्रमण नदेखिएको सुवेदीले बताए ।

पछिल्लो पटक विदेशबाट आएका चार तथा भारतबाट आएका ५३ जना गरी ५७ जनाको स्वाब परीक्षण गरिएकामा ५६ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

संक्रमण पुष्टि भएकी ती युवतीलाई कोशी अस्पताल विराटनगर पठाउने तयारी गरिएको सुवेदीले जानकारी दिए ।

प्रदेश नं एकमा अब ताप्लेजुङ र ओखलढुंगामा मात्र कोरोना संक्रमित भेटिएका छैनन् ।

तपाईको प्रतिक्रिया