Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिर्तामोड, २४ जेठ । निर्माण व्यवसायी संघ झापाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्नका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेको छ ।

सहारा नेपालसहित १८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा झापामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा जनस्तरवाट स्थापना गरिन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि निर्माण व्यवसायी संघ झापाले उक्त रकम प्रदान गरेको हो । गत बुधबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा बसेको ‘एकका लागि एक’ अभियानका साझेदार संस्थाको बैठकले झापामा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

विर्तामोडमा आयोजित एक कार्यक्रमका वीच निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेतले ‘एकका लागि एक’ अभियानका साझेदार संस्थाहरु बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल लगायतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।
झापामा कोरोना संक्रमितको संख्या वढ्दै गएकाले कोरोना भाइरसको संक्रमण परीक्षणको दायरा वढाउन पीसीआर परीक्षण प्रयोगशालाको आवश्यकता टड्कारो रुपमा देखिएकाले त्यसका लागि निर्माण व्यवसायी संघ झापाको तर्फबाट सहयोग गरेको अध्यक्ष वस्नेतले बताए ।

झापामै पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आए कोरोना नियन्त्रणमा सहजता आउने वताउँदै अध्यक्ष वस्नेतले पीसीआर परीक्षण प्रयोगशालाका लागि अन्य व्यवसायीहरुले सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा चेक ग्रहण गर्दै बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष भट्टराईले पीसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि रकम प्रदान गरेकोमा निर्माण व्यवसायी संघ झापालाई धन्यवाद दिएका थिए ।

नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम शुरु गर्ने भएको उनले बताए ।
‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा जनस्तरवाट पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरिन लागेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

नेपाल सरकारको सहयोग र समन्वयमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन ‘एकका लागि एक’ अभियानले काम शुरु गर्ने उनले बताए ।
पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने र त्यसका लागि ‘एकका लागि एक’ अभियानले संघ–संस्था र व्यक्तिलाई सहयोगको अपिल पनि गरेको अभियानका संयोजक गिरीले जानकारी दिए ।

प्रदेश १ का १४ जिल्ला र प्रदेश २को सप्तरीबाट संकलन गरिएको स्वाब विराटनगरको कोसी अस्पताल प्रादेशिक प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको छ । जसका कारण रिपोर्ट आउन एक साताभन्दा बढी समय पर्खनुपर्ने बाध्यता छ ।

तपाईको प्रतिक्रिया