काठमाडौं, २१ जेठ । नेपालमा कोभिड–१९को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताए।

पानी जम्ने ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ । गत वर्ष नेपालका ६८ जिल्लामा १६ हजारमा डेङ्गु देखिएकामा छ जनाको मृत्यु भएको थियो ।

यसबर्ष गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । सबैभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगु पनि कोरोना जस्तै भाइरसबाट हुने रोग हो ।

यसको कुनै औषधि (भ्याक्सिन) तयार भएको छैन । इपिडिमियोलोजी महाशाखाले डेंगु रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Comments