Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १९ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । आज थप २ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए सँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् ।

आज थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । हालसम्म निको भएर घर जानेको संख्या २ सय २१ पुगेको छ ।

हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो दिनको संक्रमितको सख्याको तथ्यांकसँग तुलना गर्दा आजको संक्रमितको सँख्या सँग ५ जनाले बढी देखाउँदछ । हिंजो १ हजार ५ सय ६७ संक्रमितको संख्या थियो भने, आज थप २ सय २६ जोड्दा १ हजार ७ सय ९३ हुनुपर्नेमा मन्त्रालका डा.विकास देवकोटाले १ हजार ७ सय ९८ संक्रमितको संख्या भनेर जानकारी दिएका छन् । आजको संक्रमितको संख्या १७९८ मा पुरुष १६६७ र १३१ महिला जोड्दा भने, १७९८ नै आउँछ । यसमा मन्त्रालयको त्रुटी भएको देखिन्छ ।

यस्तै, झापामा सोमबार थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षीय र वडा ३ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा बाह्रदशीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ११३ पुगेको छ । बाह्रदशीमा थपिएका दुई जना सङ्क्रमित भारतको महाराष्ट्रबाट आएका हुन् । उनीहरूमध्ये ३२ वर्षीय पुरुष जेठ ७ गते र ४६ वर्षीय पुरुष जेठ १३ गते आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ३ स्थित पशुपति माविको क्वारेन्टाइनमा बसेका १२ जनाको स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ आएको हो । सङ्क्रमित दुवै जनालाई उपचारका लागि विराटनगर वा धरान पठाइने जनाइएको छ । यसअघि पनि बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भइसकेको छ । जिल्लाको कचनकवलमा एक सय जना, गौरीगञ्जमा चार जना, गौरादहमा दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक एक जना सङ्क्रमित भेटिएको थियो ।

तपाईको प्रतिक्रिया