Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026
काठमाडौं, २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आयोजना गरिएको नेपाल बन्दप्रति सहयोग र ऐक्यवद्धता व्यक्त गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ । सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी नेपाल बन्दलाई समर्थन गर्दै विज्ञप्ति जारी गर्ने विभिन्न राजनैतिक शक्ति, वामपन्थी–देशभक्त –प्रगतिशील शक्ति र जनताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।
विप्लवले आफ्नो पार्टीका स्थायी समिति सदस्य तथा प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका नेता–कार्यकर्ताहरुलाई केपी–पिके सरकारले विशुद्ध राजनीतिक आस्थाकै कारण पूर्वाग्रह साँधेर गिरफ्तार गरी अमानवीय यातना दिएको आरोप समेत लगाएका छन् ।
उनले त्यसैका विरुद्ध बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको दाबी समेत गरेका छन् । यो गिरफ्तारीले सरकारको रबैया पुष्टि भएको दाबी गर्दै आफ्ना नेता–कार्यकर्ताहरुको गिरफ्तारीलाई लिएर अहिले चौतर्फी विरोध भैराखेको समेत विप्लवले जनाएका छन् । साथै उनले आफ्नो पार्टीले सुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको साथ र सहयोग रहने अपेक्षा गरेका छन् ।
विप्लव मंगलबार आयोजना गरिएको नेपाल बन्द सफल भयो वा विफल भयो भन्ने विषयमा भने मौन देखिएका छन् । यसअघि आफ्नो पार्टीले आयोजना गरिएको बन्दलाई सफल भएको दाबी गर्दै विज्ञप्ति जारी गर्ने नेकपाले आज भने बन्दको पक्षमा बोल्नेहरुलाई धन्यवाद दिएर विज्ञतिको बिट मारेको छ ।
सो पार्टीले आयोजना गरेको आजको बन्दको प्रभाव भने काठमाडौं उपत्यकामा परेन । मुलुकभर लामो रुटका सवारी साधन नचले पनि छोटा रुटका सवारी साधन चलेका थिए । काठमाण्डौका अधिकांश शैक्षिक संघ–संस्थाहरु बन्द भएपनि बजार भने खुलेको देखिन्थ्यो ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments