Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

झापा, १४ जेठ । आज थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७ सय ९६ पुरुष र ९० जना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने जिल्लाको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा आज एकै दिन संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २, बाराका ७ जना गरि थप १ सय १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये अधिकांश भारतबाट आएका मानिसहरु हुन् । हालसम्म ५८ हजार २ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ भने, १ लाख २ सय ८७ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालय प्रवक्ता डा. देवकोटाले जानकारी दिए । हालसम्म ७० हजार ३ सय ५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको जनाएको छ । यस्तै हालसम्म ६सय ९९ जना आइसोलेसनमा रहेका छन् भने ४ सय ६४ जना रेडजोनमा परेका छन् ।

कोरोना संक्रमित मध्ये १८३ जना निको भएका छन् भने हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक र बाराका एक गरी ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया