Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, ६ जेठ । परीक्षणको दायरा बढाउँदै लाने सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटीरपीसीआर गर्न पाउनेछन् ।
यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको उनले बताए ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको जनाएको छ । जसमा ३ सय ४० पुरुष र ६२ महिला रहेका छन् । हाल संक्रमित रहेका जिल्लाको संख्या ३६ पुगेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २७ जनामा कोरोना पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । आज फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २ सय ८० र आरडीटी विधिबाट ५ हजार ८९ वटा परीक्षण भएको छ ।
हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यका भित्र १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन् । क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन् । यस्तै, रेडजोनमा पर्नेको संख्या ४ सय १२ पुगेको जनाएको छ ।

तपाईको प्रतिक्रिया