Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

मैले फेर्नै नमिल्ने
एउटा
मेरो छिमेकी छ
भन्न त उ हाम्रो सम्बन्ध
पुराणको पानाबाट गाँसिएको भन्छ
चेपारो गाँस्दै आउँछ
साँच्चीकै ठुल्दाई जस्तै बन्छ
मेरो बलेंसीको भित्रभित्र नयाँनयाँ धर्का कोर्छ
मेरो सानु घरको माथिल्लो भित्तोमा
बेला बेला चिथोर्छ
हामीलाई केहि दिएजस्तो गर्छ
सदासयताको पानी पिएजस्तो गर्छ
आफूलाई दिग्गज सम्झन्छ
तर
अभिमानी छ
अहँकारी छ ।

मेरो मूल बाटो निस्कने मार्ग थुनेर
गजधम्म बसेकाे
मेरो सुरक्षा ठेकेदारीकाे चन्दन घसेकाे
इतिहासकी सीता मात्रै हाेइन
वर्तमानकि काली,शारदा,सरयु र काैशीकीकाे अपहरण गरेर
ऊँ नमः शिवायकाे नारा लिएर
मेरै दैलाे भित्र पस्छ

पार्वती पिता हिमालयमाथि आँखा तर्छ ।

भाेला महादेवलाई झुक्याएर
झाेलामा पार्वती माग्ने उस्काे टुना
फेरि जगृत भएको छ
मेरा निस्कासनका सबै मार्ग छेकेर
मलाई अभावले सेकेर
बखतबखतमा मलाई
कमजाेर बनाउँदै गर्छ
मेरै सहोदरको गोजी भरेर
नाकाबन्दीको दास बनाउँदै गर्छ
मेरो एउटा छिमेकी छ ।

धेरै पहिलेदेखि
मेरा घरका अगुवाहरु
लाचार शासक
परिस्थितिका भगुवाहरु
आज आँगनमा निस्किएका छन्
आफ्नै स्वाभिमानसंग जिस्किएका छन्
७० बर्षको लामु लडाईंमा
कहाँ गयो यिनको बोली
आज सत्ता बाहिर हुँदा मिलाउँछौ क्यारे लोली
आज सबै एक हुने बेला आएको छ
छिमेकीको दासता पनि स्वीकार गर्न सकिन्न
छिमेकी साटेर अन्त सर्न पनि सकिन्न
त्यसैले मेरा घरका अगुवाहरु
लाचारीमा भगुवा नबन
सत्ताको लाज राख
कठोरमा ढुङ्गा र नरममा रुवा नबन
किनकि हामीले फेर्नै नमिल्ने एउटा छिमेकी छ ।

हामीले हामीलाई नै धाक देखाएर
सत्ता झिनाझप्टीको भाग देखाएर
आफ्नै मझेरीमा आगो बालेर
आफ्नै मूलखाँबो मुनि धूप हालेर
उस्लाई होइन आफ्नैलाई सराप्दैछौं
इतिहासका कमजोरी झ्यासहरु थोपरेर
असक्षमताको आगो ताप्दै छौं
बल्ल झ्यालको एउटा पल्ला खोल्ने हिम्मत गर्यौं
अब हाम्रा बालाई निस्कनोस भन्नुपर्छ
यदी बाले आँट गर्नु भयो भने
हामी उनको तागत बन्नुपर्छ
नत्र भने बन्दैगरेको बर्तमानको इतिहासलाई
भविष्यमा फेरि सराप्ने छौं
हामी फेरिपनि आउँदा दिनहरुमा काँप्ने छौं
किनकि हामीले फेर्नै नमिल्ने एउटा छिमेकी छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments