Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४ जेठ २०७७ । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको  शनिवार राति नै  राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।

यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो । मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया