Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरीगंज, ३१ वैशाख २०७७ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन हुलाकी सडक मापदण्ड अनुसारको कार्य नभएको स्थानीय बासिहरुबाट गुनासो आएपछि पार्टी तथा जनप्रतिनिधिहरुले अनुगमन गरेका छन।

गौरीगंज गाउँपालिका वार्ड नं.६ का पार्टी प्रतिनिधिसहित जनप्रतिनिधिहरूले सडक अनुगमन गरेका हुन्।गौरीगंज गाउँपालिका वार्ड नं.६ अन्तर्गत हुलाकी सडक भित्र रहेका निर्माणाधिन कल्भर्ट र सडकको अनुगमन गरेका हुन् ।कल्भर्ट निर्माणमा कमसल इट्टा प्रयोग भएको, सिमेन्टको मात्रामा कमबेसी गरेको र सडकको चौडाई पनि कम गरि खनेको स्थानीयबासीबाट जनगुनासो आएपछि वार्ड नं.६ का अध्यक्ष बद्रीनारायण यादवको नेतृत्वमा वडा सदस्य सहित पार्टी प्रतिनिधिहरूले अनुगमन गरेका हुन् ।

सडक अनुगमनका क्रममा टोलीले हुलाकी सडक निर्माणमा कुनै प्रकारकोे कमीकमजोरी नगर्न र गुणस्तरीय सामानको प्रयोग गरि दिगो र भरपर्दो निर्माणको काम गर्न ठेकेदार कम्पनीका प्रतिनिधिहरूलाई अनुरोध गरेका थिए।अनुगमन टोलीले हुलाकी सडक निर्माण गरिरहेको मोतीदान कन्ट्रक्सन प्रालिका प्रबन्धक विकास गौतमसंग सडकको गुणस्तर र कल्भर्टमा प्रयोग भएका ईट्टा, बालुवा, सिमेन्टका बारेमा जानकारी लिएका थिए।

हुलाकी सडकका प्रबन्धक गौतमले निर्माणधिन हुलाकी सडकमा प्रयोग गरिने सामानको गुणस्तरमा कुनै कमीकमजोरी नगरिएको जानकारी गराए। सडक तथा त्यस भित्र रहेका कल्भर्ट निर्माण कार्यमा गुणस्तरीय सामग्री प्रयोग गरिएको र कमसल सामग्रीको प्रयोग भएको भन्ने बिषयमा कुनै प्रकारको संका उपसंका नगर्न आग्रह गरेका छन।

लकडाउनका कारण सामान ढुवानीमा धेरै कठिनाई भोगेको बताउँदै बजारमा सिमेन्ट , ढुंगा, इट्टा लगायतका मेट्रियलको अभावका बीच सडक निर्माणको काम गरिरहेको प्रबन्धक गौतमले बताए।करिब २८ किलोमिटर हुलाकी सडक भित्र रहेका ३६ वटै कल्भर्टहरू बर्खा अगाडि नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको प्रबन्धक गौतमले बताए ।

अनुगमन टोलीमा वार्ड अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्यहरू मुकेश साह, उदिम कुमार राई, नेकपा प्रतिनिधि कृष्ण महतो, नेका प्रतिनिधि गोपाल पौड्याल, राप्रपा प्रतिनिधि नन्दराज थापा, शिक्षक विष्णु राजवंशी, पत्रकार आत्माराम राजवंशी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया