Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024
इलाम, साउन २६। यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ ।
श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीद्वारा प्रदान गरिँदै आएको पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुसार गुठीले पूर्वाञ्चल दैनिकका डेस्कसम्पादक ढकालको नाम अनुमोदन गरेको हो । आउँदो भदौ १६ गते झापाको बिर्तामोडमा पुरस्कार वितरण गरिने गुठीका अध्यक्ष तोयनाथ भट्टराईले जानकारी दिए ।
सम्मान–पत्रसहितको पुरस्कारको राशि १५ हजार पाँच सय ५० रुपैयाँ रहेको छ । २०३४देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिताको यात्रा शुरु गरेका हुन् । उनले स्वतन्त्रता, जनस्वतन्त्रता लगायतका पत्रपत्रिकासहित कञ्चनजंघा एफएममा पनि समाचार सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । अघिल्लो वर्ष इलामका धर्म गौतमलाई यो पुरस्कार प्रदान गरिएको थियो । गुठीले पूर्वाञ्चलका मेची, कोशी र सगरमाथा अञ्चलमा रहेर पत्रकारिता गरेका १२ जनाभन्दा बढीलाई पुरस्कृत गरिसकेको छ ।
पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गरेकी हुन् । १९८६ मा जन्मिएका उपाध्यायले आलोक र केटो साप्ताहिक लगायत विभिन्न पत्रिकाको सम्पादक तथा विभिन्न तहमा रहेर काम गरेका थिए । पञ्चायती कालमा पनि पत्रकारितामार्फत लोकतन्त्रको लडाइँ लडेका उपाध्यायलाई मेची अञ्चलका जेठा पत्रकारका रुपमा सम्मान गरिएको छ । उनको २०४६ चैत १७मा निधन भएको थियो ।
तपाईको प्रतिक्रिया