मंगलबार, चैत्र १४, २०७९
Tuesday, March 28, 2023

आजै मात्र पु्ष्टि हुनेको संख्या ८३

काठमाडौं, ३० वैशाख २०७७ । मंगलबार फेरि थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार पर्सामा मात्रै १८ जना संक्रमित भेटिएका छन्। जसमा ६ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन्। अधिकारीका अनुसार त्यसैगरि महोत्तरीमा १६ र ३५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।

त्यस्तै गरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। प्रदेश २ कै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए। मंगलबार दिउँसो मात्रै कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए।

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए। नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन्।

नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। नेपालमा कोरोना संक्रमितको संख्या सय पुग्न दुई महिनाभन्दा धेरै समय लागेको थियो। तर सय पुगेसँगै कोरोना संक्रमितहरु दैनिक दर्जनौंको संख्यामा भेटिन थालेका हुन्।

तपाईको प्रतिक्रिया