Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २८ वैशाख । कोरोना संक्रमणको उपचारपछि निको भएका व्यक्तिलाई विभेद नगर्न आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भई घर गएका व्यक्तिहरुलाई परिवार र समुदायको साथ–सहयोगको आवश्यक पर्ने हुँदा विभेद नगर्न आग्रह गरेको हो।

मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको भएका व्यक्तिहरुलाई परिवार र समुदायले विभेद गरी छुट्टै स्थानमा राखिएको सूचना आएको भन्दै उनीहरुमा रोग सार्ने क्षमता नभएकाले सामान्य जीवनयापनमा फर्कन दिन आग्रह गरे । यस्तैगरि, राष्ट्रिय बालअधिकार परिषदले पनि बालबालिकालाई क्वारेन्टाइन र आइसोलेसनमा राख्नुपर्ने भएमा बालमैत्री वातावरणमा राख्न अनुरोध गरेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् ।

यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । यसमध्ये ३१ जना निको भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी विधिबाट ५६ हजार ६५७ । पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएका छन् ।
क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना रहेका छन् । आज कोहीपनि व्यक्ति रेडजोनमा नपरेको जनाएको छ ।

हाल ७९ जना संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको भन्दै डा। देवकोटा प्रदेश नम्वर १ , २ र ५ मा संक्रमितको संख्या बढीरहेको बताए ।

कर्णाली प्रदेशमा भने संक्रमित देखिएका छैनन् ।

तपाईको प्रतिक्रिया