Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
बिराटनगर, २५ साउन । प्रदेश १ का मुख्यमन्त्रीदेखि सांसदसम्मको तलबमा मात्रै मासिक ४३ लाख खर्च हुने गरेको देखिएको छ । प्रदेश सभा सचिवालय, मन्त्री तथा मुख्यमन्त्रीका सेवा सुविधा सम्बन्धी पारित ऐनमा गरेको व्यवस्था अनुसार प्रत्येक महिना ४३ लाख खर्च हुने देखिएको हो । इन्धन, मोबिल, सञ्चार, निजी सचिवालय, सवारी र अन्य भत्ताहरू बाहेक नै महिनाको खर्च यति देखिएको हो ।
९३ जना प्रदेशसभा सदस्यहरू भएको प्रदेश १ मा पाँच जनाको मन्त्रिमण्डल छ । जसमा मुख्यमन्त्रीको तलब ६० हजार नौ सय ६० रुपैयाँ तोकिएको छ । यस्तै अन्य चार मन्त्रीको तलब ५२ हजारका दरले दुई लाख आठ हजार हुन्छ । यस्तैगरी, प्रदेशका सभामुखको तलब ५३ हजार छ भने उपसभामुखको तलब ५० हजार छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको तलब ५० हजार छ भने सत्तापक्षको र पक्षिपक्षका प्रमुख सचेतकको तलब ४९ हजारका दरले ९८ हजार हुन्छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सचेतकहरूको तलब ४७ हजारका दरले ९४ हजार हुन आउँछ । मुख्यमन्त्रीदेखि सचेतकहरू भएर बाँकी रहेका ८१ जना प्रदेश सांसदहरूको मासिक ४५ हजारको दरले ३६ लाख ४५ हजार खर्च हुन्छ ।
यसरी हाल भएको पाँच सदस्य मन्त्री मण्डलका सदस्यदेखि प्रदेश सांसदहरूको अन्य सेवा सुविधाहरू बाहेकको तबलको खर्च मात्रै ४२ लाख ५८ हजार नौ सय ६० हुन्छ ।
एउटा प्रदेश सभा बैठक बस्दा ६६ हजार खर्च
मुख्यमन्त्रीदेखि सांसदसम्मको मासिक तलबमा मात्रै ४३ लाख हाराहारी खर्च हुने प्रदेश १ को प्रदेशसभाको एक बैठकको भत्ता खर्च पनि ६६ हजार खर्च हुने देखिएको छ। सांसददेखि मन्त्री सम्मले बैठक भत्ता बापत प्रति बैठक ७ सय ५० रुपैयाँ पाउँछन् । प्रदेश १ मा ५ जनाको मन्त्री मण्डल भएकोले सभामुखदेखि सांसदहरू ८८ जना छन् । सबै उपस्थित बैठकमा ६६ हजार खर्च हुने देखिन्छ ।
सांसदलाई स्वदेश घुम्दा दैनिक २ हजार विदेश घुम्दा १८ हजार
प्रदेश ऐनले सांसददेखि मुख्यमन्त्रीसम्मलाई मासिक तलबदेखि भत्ताको व्यवस्था गरेको छ । यात्रा गर्दा भ्रमण भत्ता मात्रै हैन १० लाखको बिमाको समेत व्यवस्था गरिएको छ ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरू तथा मन्त्री तथा मुख्यमन्त्रीको सेवासुबिधाका बारेमा बनेका बिद्येयकहरुका अनुसार एक सांसदले स्वदेश घुम्दा दैनिक दुई हजार राज्य कोषबाट पाँउछन । यस्तै विदेश घुम्दा भने एक सय ७५ अमेरिकी डलर पाँउछन । जुन सटहि दर हेरेर १७ हजार ५ सयदेखि १८ हजार आसपास हुन्छ । सांसद जस्तै उपसभामुख, विपक्षी दलको नेता र सचेतकहरू सबैले सोही दरको भत्ता पाउँछन् ।
सभामुखले भने स्वदेश भ्रमणको दैनिक दुई हजार पाँच सय पाउँछन् भने विदेश भ्रमणको भने दुई सय अमेरिकी डलर पाउँछन् । जुन नेपाली सटही अनुसार २० हजार हाराहारी हुन्छ । सभामुख जस्तै प्रदेशका मन्त्रीहरूले पनि स्वदेश भ्रमणमा दैनिक २५ सय र विदेश भ्रमणमा दुई सय अमेरिकी डलर भत्ता पाउँछन् ।
मुख्यमन्त्रीले भने स्वदेश भ्रमणमा दैनिक तीन हजार र विदेश भ्रमणमा दैनिक र्दु सय २५ अमेरिकी डलर भत्ता पाउँछन् । जुन २२ हजार ५ सय हाराहारी हुन्छ । नेपाल समयबाट
तपाईको प्रतिक्रिया