Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौँ, २४ वैसाख २०७७ । सरकारले ल्याएको दुई अध्यादेशका कारण आन्तरिक कलहमा फसेको नेकपाको शनिवार बसेको सचिवालय बैठक सौहार्दपूर्ण रुपमा निर्णमा पुगेको थियो । तर, २५ गते बिहिवार बस्ने स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न आज बसेको सचिवालय बैठक भने भाँडिएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्षबाट राजीनामा मागेपछि बैठक बीचमै छाडेर हिँड्ने अवस्था उत्पन्न भएको हो ।

नेकपाको वैसाख २० बसेको सचिवालय बैठक तनावपूर्ण हुने अनुमान गरिएको थियो । तर, बैठक तनावरहित भयो । चिनियाँ सक्रियताले सहमतिका लागि मार्ग निर्धारण भएको थियो ।

चिनियाँ राष्ट्रपति सि जिङ पिङ र राष्ट्रपति विद्यादेवी भण्डारी बीच भएको ४५ मिनेट लामो सम्वाद, प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको चिनियाँ राजदूत होउ यान्छीको सम्वादपछि नेकपाको विवाद मथ्थर भएको थियो ।
आजको सचिवालय बैठक विवादरहित होला भन्ने धेरैको अनुमान थियो । तर, एकाएक बैठक भाँडियो ।

सचिवालय बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतमले आफ्नो भनाई राख्ने क्रममा आफुलाई पटक पटक धोका दिइने गरेको भनाई राखेका थिए । उनले आफु प्रयोग मात्रै भएको कुरा राखेको नेकपा स्रोतले बतायो । उनले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

एजेण्डा तय गर्न बसेको बैठकमा प्रधानमन्त्रीले स्थायी समितिको बैठक राख्न अनइच्छा प्रकट गरेपछि विवाद बढेको हो । बैठकमा माधव नेपाल र प्रधानमन्त्री ओली बीच चर्का चर्की भएको थियो ।

स्थायी समितिको बैठकको आवश्यक नभएको प्रधानमन्त्रीले भन्ने बित्तिकै नेता नेपालले ओलीलाई पार्टी अध्यक्षबाट राजीमान गर्न भनेका थिए । नेपालले बैठक नबोलाउने हो भने राजीनामा दिनुहोस् भनेपछि प्रधानमन्त्री ओली बैठक कक्ष छाडेर बाहिरिएका थिए ।

प्रधानमन्त्री बाहिरिएपछि एजेण्ड तय गर्ने कुरामा अन्योल भएको बैठकमा दुई अध्यक्षलाई एजेण्डा तय गर्न भनिएको थियो । तर, बिहिवार स्थायी समितिको बैठक नबस्ने नेकपाले जनाएको छ ।

पार्टी भित्रको विावद उत्कर्षमा पुगेका बेला अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री ओली, प्रचण्ड लगायतले आत्मालोचना गरेर विवादको हलको प्रयास गरेका थिए ।

तर, एकाएक विवाद बढ्नुमा कुनै आकश्मिक कारण मात्र हुन नसक्ने नेकपाका चीनका जानकार एक नेताले बताए । उनले चीनले नेकपा भित्र गराएको मिलाप बाहिय कुनै फ्याक्टरले काम गरेको हुनसक्ने बताए ।

तपाईको प्रतिक्रिया