Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगन्जका थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल नेपालगन्जमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रशासनका अनुसार मंगलबारदेखि बिहीबार मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्र्याक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन प्रशासनले यस्तो कदम चालेको हो ।

तपाईको प्रतिक्रिया