Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठ्माडौं, २० वैशाख । बिराटनगरको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको बताउँदै त्यसमा थप त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मा अबदेखि कोभिड-१९ को परीक्षण पीसीआर विधिबाट सुरु भएको जनाइएको छ । यो सँगै देश भरि पीसीआर विधिबाट परीक्षण गर्ने
प्रयोगशालाको संख्या १७ पुगेको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका डा.विकास देवकोटाले जानकारी दिए ।

यस्तै, नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले फ्रन्टलाइनमा खटिने नर्सहरुको सेवा सुविधा बढाउने निर्देशिका बनाइनु पर्ने बताएकी छन् । उनले सरकारले व्यवस्था गरे पनि निर्देशिका बनाएमा अझै उच्च मनोबलका साथ स्वास्थ्यकर्मीहरुले खटिने बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङका क्रममा बोल्दै अध्यक्ष राईले नर्सहरु घर गृहस्थी तथा फ्रन्टलाइनमा पनि खटिनुपर्ने भएकाले सेवा सुविधा बढाउने कुरामा ध्यान दिनुपर्ने र शंका लागेको खण्डमा स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने आग्रह गरिन् । उनले भावी योजनाको रुपमा नर्सिङ तथा स्वास्थ्य शिक्षा प्रयोगात्मक रुपमा लानुपर्ने कुरा कोरोना कहरले सिकाएको बताइन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड—१९० को नयाँ संक्रमण देखिएको छैन । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
अहिले नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसमा ४९ पुरुष र १० जना महिला रहेका छन् । संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन् । यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन्।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन् ।
देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।

काठमाडौं उपत्यकामा ४ र उपत्यका बाहिर ८५ गरी ८९ जना अहिले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा सम्भावित संक्रमितका रुपमा रेड जोनमा ४ जना थपिएका छन् । रेड जोनमा हाल ३ सय १९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया