Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बिर्तामोड, झापालगायत देशभर महिलामाथि बढ्दो हिंसा र बलात्कारका घटनाले प्रोत्साहन पाइरहेको भन्दै त्यसको विरोधमा झापाका महिला सडकमा उत्रिएका छन्।

साउन १६ गते अर्जुनधारा नगरपालिकाकी चार वर्षीया बालिका बलात्कृत भएपछि झापाको बिर्तामोडमा स्वतस्र्फुत निस्केको महिलाहरू सहभागी भएको हिंसाविरुद्धको र्‍यालीले स्थानीय प्रहरी प्रशासन र न्यायिक निकायलाई समेत खबरदारी गरेको थियो।

बुधवार निस्किएको बृहत र्‍यालीमा अर्जुनधारा र विर्तामोडबाट सहभागि भएका महिला तथा पुरुषहरूले ‘नारीहरू मोजमस्तीका लागि होइनन, उनीहरूको इज्जत गर्न सिकौँ’, ‘महिला हिंसा अन्त्य गर’, ‘न्यायिक निकाय होसियार’, ’बलात्कारीलाई फासी दे’ लगायतका प्लेकार्डसहित चर्को नाराबाजी गर्दै बिर्तामोड परिक्रमा गरी मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो।

झापामा क्रियाशील एक दर्जन बढी महिला संघ संगठनमा आवद्ध महिला प्रतिनिधिहरूले देशमा बढिरहेको बलात्कारका घटनाको अन्त्य गर्दै दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने कडा कानुन ल्याउन मागसमेत अघि सारेका छन्। कोणसभामा बोल्दै झापा अर्जुनधाराकी महिला नेतृ देवकला प्रसाईंले भनिन् ‘देशभर यत्रो महिलामाथि हिंसा भइरहँदा स्थानीय तहका न्यायिक निकायका प्रमुखहरू किन बोल्दैनन?, झापाका बालिका बलात्कृत हुँदा काठमाडौं तथा कञ्चनपुरलाई पनि दुख्नुपर्छ, सबै स्थानका महिलाको पीडा एउटै हो।’ महिलाको आवाजलाई कमजोर नठान्न सम्बन्धित निकायलाई उनले चेतावनीसमेत दिइन्।

बलात्कारीलाई फाँसीको सजाय दिने कानुन बनाउनु पर्ने जिकिर गर्दै महिला अधिकारकर्मी सावित्री सुवेदीले भनिन्, ‘महिलामाथि भइरहेका अन्याय र अत्याचारका घटनाका बारेमा खुलेर आवाज उठाउन आम महिलाहरुलाई आवहनसमेत गरिन्।’

तपाईको प्रतिक्रिया