Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024
२३ साउन, ०७५ । पहिलोपटक प्रधानमन्त्री हुँदा सल्लाहकार सचिवालय चुस्त बनाएको भनेर चर्चा कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक पनि सचिवालय चुस्त बनाउने प्रयास गरेका छन्।
प्रधानमन्त्री ओलीले सल्लाहकार मार्फत राष्ट्रिय मामिला, मन्त्रालय तथा मुख्य सचिव र सचिवसँगको समन्वय, प्रधानमन्त्रीको भेटघाट, मिडिया व्यवस्थापन, आइटी व्यस्थापन तथा प्रधानमन्त्रीका सामाजिक सञ्जालको अपडेट गर्नेलगायत सहयोग लिइरहेका छन्।
ओलीको सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाकार कुन्दन अर्याल छन्। तीनजना सल्लाहकारको मातहतमा विज्ञ सदस्य तथा स्वकीय सचिव र अन्य सदस्य समेत प्रधानमन्त्रीको सचिवालयमा छन्।
सरकारको मूल्यांकनदेखि राष्ट्रिय मामिलामा समेत प्रभाव जमाउन खोजेको भन्दै नेकपा भित्रै आलोचना हुने गरेको खबर नागरिक दैनिकमा छ। राजनीतिक सल्लाहकार रिमालले राष्ट्रिय मामिला मन्त्रालय, मुख्यसचिव तथा सचिवहरुसँग समन्वय गर्नेलगायतका जिम्मेवारी सम्हालेका छन्।
मैनालीले प्रधानमन्त्रीसँग हुने भेटघाटको चाँजापाँचो मिलाउँछन्। पत्रकारिता विज्ञ रहेका अर्यालले प्रधानमन्त्री कार्यालयको प्रेस सम्बन्धी सम्पूर्ण जिम्मेवारी संयोजन गर्छन्। सचिवालयका यी तिन मातहत अन्य सदस्य पनि छन्। प्रधानमन्त्रीको मिडिया टिममा प्रेस संयोजक चेतन अधिकारी र प्रेस विज्ञ रामशरण बजगाइँ छन्। अधिकारी ओलीको भाषणको तथ्यांक राख्छन्। बजगाइँ प्रधानमन्त्री निवास बालुवाटारबाट मिडियासँग जोडिएका विषय हेर्छन।
त्यस्तै फोग्राफर कृष्ण पौडेल छन्। उनी प्रधानमन्त्री पुगेका सबै कार्यक्रममा पुगेर तस्बिर र भिडियो खिची अभिलेख राख्ने काम गर्छन्। प्रधानमन्त्री कार्यलयमा आवश्यक पर्ने लेआउट डिजाइनसम्बन्धी काम महेन्द्र श्रेष्ठले गर्दै आएका छन्। त्यस्तै श्रेष्ठसँगै किरण माली र मनोज पाण्डे पनि अवैतानिक विज्ञका रुपमा रहेका छन्।
असगर अली प्रधानमन्त्री कार्यलयमा आइटी कन्सल्टयान्ट हुन्। स्वकीय सचिवमा राजेश बज्राचार्य रहेका छन्। उनी मातहतमा दीपेन्द्र दाहाल र रमेश भट्टराई सचिवालयमा नै कार्यरत छन्। बज्राचार्य प्रायः प्रधानमन्त्रीसँगै हुन्छन्।
तपाईको प्रतिक्रिया