Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

पत्रपत्रिका, समाचार

काठमाडौं,१३ बैशाख २०७७ । सरकारले कोरोना भाइरस सङ्क्रमणलाई रोक्न ट्रेसिङका लागि खटिन छुट्टै टोलीको व्यवस्था गरेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – कोरोना भाइरस रोकथामलाई व्यवस्थित बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी, पारामेडिक्स, नर्स गरी ३ जनाको टोली बनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गाउँपालिकामा १, नगरपालिकामा २, उपमहानगरपालिकामा ३ र महानगरपालिकामा ५ वटा टिम परिचालन गरिने बताए ।

उनले कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरू बढिरहेको भन्दै त्योसँगै ट्रेसिङ पनि समूह बनाएर ट्रेसिङलाई व्यवस्थित गरेको बताए । उनले १२ हजार ९८५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । देवकोटाका अनुसार काठमाडौंमा ३ र बाहिर ८६ गरी ८९ जना अलग्गै राखिएको छ ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म पीसीआरबाट ९ हजार ४०७ र आरडीटीबाट ३८ हजार ८९ जनाको परीक्षण भएको छ ।

हालसम्म ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ भने ११ जना सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया