Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

११ वैशाख २०७७ बिहीवार

कवि- लक्ष्मीप्रसाद कोइराला

ओ मेरा प्रिय सन्तानहरु !
म धर्तीमाताको कुरा सुन !
म आफू त यति धेरै पिल्सिएकी छु
न्याकिएकी छु चिथोरिएकी छु
सिर्फ मान्छेको उदण्डताले
अनि म भाइरस भएँ
किन नभनौं ?
ओ मेरा प्रिय सन्तानहरु !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !

ओ मेरा प्रिय सन्तानहरु !
एउटा असहिष्णु र
उदण्ड उच्छृङखलताले
ती हरियो च्यादर ओडेका
मेरा अवयबहरु, डाँडाकाँडाहरु
दिनरात उधिनेर,निचोरेर,कोतरेर
अनि निर्वस्त्र,नाङ्गा बनाएर
प्राकृतिक उपहार चराचुरुङ्गीलाई
त्यसैत्यसै सुकुम्बासी बनाइरहेछौ
यसैत्यसै बसाइँ हिडाइरहेछौ ।
ओ मेरा प्रिय सन्तानहरु !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !

म आफैँ सृष्टिकर्ता भए तापनि
आफ्नै घाम,जून,तारा,हावा,बतास
अनि समय विभाजनसहितको
विश्वब्रह्माण्ड भए तापनि
त्यसैत्यसै कोही केही नभएकी
बेसहारा मग्नी जस्ती देखिरहेछौ ।
ओ मेरा प्रिय सन्तानहरु !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !

तिमी आफू आफैंलाई
जीज्ञासु र चेतनशील भन्छौ
तिम्रा ती चरम र यान्त्रिक
केही महत्वाकांक्षाहरुले
आधुनिकताको घोडा चडेर
आफू आफैंले खोलेका र बनाएका
आणविक भट्टीहरु र पेन्टागनहरुले
आफूआफैंलाई असुरक्षित
र अपाहिज बनाइरहेछौ
मानव मूल्यको अवमूल्यन गरेर
स्वार्थी प्रवृत्तिको अधिमूल्यन गरेर
विश्वासको धज्जी उडाइरहेछौ
अविश्वासको बीजाधानले
युद्धविभीषिका निम्त्याइरहेछौ।
ओ मेरा प्रिय सन्तानहरु !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !

ओ मेरा प्रिय सन्तानहरु !
मेरो आफ्नै उत्पतिको नियमलाई
समय विभाजन र अनुशासन-सुत्रलाई
एउटा लिखुरे र ख्याउटे मान्छेले
आजभोलि दिनरात खटेर
उसको प्रयोगशाला र अप्रेसन कक्षमा
कहिले ग्यालिपट,सर्जिकल ब्लेड….
केमिकल र रगतका पोका खोजिरहेछ
कहिले क्यालकुलेटर थिचेर
जोड-घटाउ गरिरहेछ।
अनि एउटा मान्छेको मुटु झिकेर
अर्को मान्छेलाई राखिदिएँ भनिरहेछ।
महिलालाई पुरुष र पुरुषलाई महिला बनाएर
मलाई नै उल्लु बनाइरहेछ !
वषन्त-शिशिर र शिशिर-वषन्त
आज क्लोनिङ्ग गरेर विष उमारिरहेछ ।
उदाउने-अस्ताउने र अस्ताउने-उदाउने
घाम र जुनको सूत्रबद्ध नियमलाई
उदाउन र अस्ताउन नदिएर
उल्लु बनाइरहेछ ।
हरित गृहहरुले उत्सर्जन गरेका
विषाक्त धुवाँ निलेर
मानवजाति नै भाइरस भइरहेछ ।
ओ मेरा प्रिय सन्तानहरु हो !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !

ओ मेरा प्रिय सन्तानहरु !
अब शिशिरलाई शिशिर नै हुन देऊ
वषन्तलाई वषन्त नै हुन देऊ !
स्रष्टाको सृष्टिलाई चुनौती दिने
प्राकृत रुपलाई कृतिम बनाउने
जोड-घटाउको टन्टाबाट पछि हट
विज्ञानको चरम दुरुपयोग गरेर
सर्वनासका भट्टिहरु नखोल
आज असन्तोषको आगो दन्काएर
भोलि मानवमूल्य मान्यताको हत्या नगर
आविष्कार गरेका यावत् वस्तुहरुले
दिनमा काम गर रातमा आराम गर
उदण्ड महत्वाकांक्षी भएर
सबैसबैको सर्वनाश नगर
म प्रकृति तिम्री जननी नै हुँ
सधै अगाडि सबैमा अगाडि छु
मलाई प्रयोग गर नस्ट नगर
कयौँचोटी सम्झाएँ किल्चिएँ,
पिल्सिएँ नासिएँ भन्दै
कयौंचोटी चिच्याएँ रोएँ कराएँ
तर कसैका कानहरु खुलेनन्
हुरी बतास बाढी पहिरो सुनामी
भूकम्प भएर चेतावनी दिएँ सुनेन्
अझै देश काल परिस्थिति हेरेर
फेरि आउन सक्छु रुप फेरेर ।
ओ मेरा प्रिय सन्तानहरु !
अनि म भाइरस भएँ
अब मलाई सम्हाल !
[email protected]

तपाईको प्रतिक्रिया