Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, २१ साउन । वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएका झापा बुद्धशान्ति–४ का प्रशान्त लिम्बूलाई स्वदेश फर्काउन ब्लड मनी सङ्कलन अभियान सुरु गरिएको छ ।

‘प्रशान्त लिम्बू उद्धारको सहयोगार्थ ब्लडमनी सङ्कलन अभियान’ आइतवारबाट सुरु गरिएको हो । प्रशान्तलाई नेपाल फिर्ता ल्याउन ३६ लाख रुपैयाँ ब्लड मनी आवश्यक छ ।

आइतवार झापाको बुद्धशान्तिस्थित प्रशान्तको घरबाटै एक कार्यक्रम बीच अभियानको सुरुवात गरिएको छ । स्थानीय युवा भूपेन्द थेवेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा मित्रराज साँवा, नरेश लावती, बुद्धिमान लिम्वु, सुशान्त लिम्वु, शरण लिम्वु, मनकुमार राई, सुमन राई, सत्यप्रकाश लिम्वु, महेश मेयाङ्वो र शेरबहादुर सुहाङ रहेका छन् ।

कामका लागि साउदी गएका प्रशान्तले बिना लाइसेन्स सवारी साधन चलाएको र उनले चलाउँदै गरेको गाडीलाई पछाडिबाट स्थानीय साउदी एक युवकको गाडीले ठक्कर दिएपछि ती युवकको मृत्यु भएको थियो ।

लिम्बुलाई ८ महिना जेल चलानपछि अहिले मुक्त गरी ब्लड मनी तिर्न अदालतले फैसला सुनाएपछि नेपाल फर्काउनका लागि अभियान सुरु गरिएको संयोजक थेवेले जानकारी दिए ।

प्रशान्तका बुबा उत्तरसिंह लिम्बुले २०७३ साउन २६ गते शान इन्टरनेशनल म्यानपावरको इटहरी कार्यालयबाट १ लाख ३० हजार रुपैयाँ तिरेर ड्राइभर कामका लागि साउदी पुगेको ९ महिनामा छोरा प्रशान्त दुर्घटनामा परेकाले स्वदेश फर्काउनका लागि चाहिने ठूलो पैसा आफूसँग नभएकाले सवैसँग सहयोगको याचना गरे ।
कार्यक्रममा प्रशान्तकी श्रीमती कमलाले आफन्तसँग ऋण मागेर पैसा कमाउनका लागि साउदी पठाएको तर अहिले श्रीमान फर्काउन सहयोग माग्न बाध्य भएको बताइन् ।

कार्यक्रममा नवज्योति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राई, बुद्धशान्ति वडा नम्वर ४ का वडाध्यक्ष वुद्धिमान लिम्वुले सहयोगका लागि सबैलाई आग्रह गरे ।

अभियान सोमबारबाट सुरु गरिने संयोजक थेवेले जानकारी दिए । यद्यपि कार्यक्रममा सहयोग वापत १२ हजार रुपैयाँ प्राप्त भएको थेवेले जानकारी दिए । ।

ब्लडमनी सङ्कलनका लागि प्रशान्तका बाबु उत्तरसिंह लिम्बुको नाममा धुलाबारीको ग्लोबल आईएमई बैंकमा २३०७०१०००५३९६ नं. को खाता खोलिएको छ ।

तपाईको प्रतिक्रिया