Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झगेन्द्र खड्का
गौरादह, २ चैत्र । झापाको गौरादहमा पहिलो पटक परिक्षणको रुपमा लगाइएको स्याउ फलेपछी यस वर्ष स्याउका बिरुवा थप गरिएको छ । गौरादह नगरपालिका वडा नं.२ हाँसखोरामा स्थायी बसोबास गर्दै आएका भिम बिक्रम खड्काले तराईको प्रचण्ड गर्मीमा गतवर्ष स्याउ फलाएका थिए । हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मीमा फलेपछि गतवर्ष स्याउ हेर्ने मानिसहरुको भिड लागेको थियो । गतवर्ष परिक्षणको रुपमा स्याउका बिरुवा लगाउँदा सोचेभन्दा बढी फलेपछी यसवर्ष बिरुवा थप गरेका छन् ।

भिम बिक्रम खड्काले गतवर्ष करिब एक बिघा जग्गामा २ सय बिरुवा रोपेका थिए । यस वर्ष १ सय ५० बिरुवा थप गरेका छन् । थाइल्यान्डको जिटुमा फलाइएको रोयलरेड जातको स्याउ भारतका विभिन्न ठाउँमा फलेको देखेपछि खड्कालाई आफ्नो ठाउँमा पनि स्याउ फलाउने उत्साह भएको उनले बताए । तराईको गर्मी ठाउँ गौरादहमा स्याउ फलेपछी यसवर्ष उनले १ हजार बिरुवा ल्याएका थिए । हजार बिरुवा ल्याएपनि उनले १ सय ५० बिरुवा मात्र लगाए । गर्मी ठाउँमा पनि फल्ने स्याउ भएकाले नेपालकै अन्य जिल्लाका किसानहरुले खरिद गरेर लगेका छन् ।

यस वर्ष ल्याएका स्याउका बिरुवाहरु झापा जिल्लाका अन्य ठाउँका साथै मोरङ, ईलाम, चितवन, काभ्रे र धादीङ जिल्लाका किसानहरुले स्याउका बिरुवा खरिद गरेर लगेका खड्का बताउँछन्। गौरादहका अन्य छिमेकीहरुले पनि स्याउका बिरुवा रोपेको उनले बताए । गौरादह नगरपालिकाले पनि नगरपालिका परिसरमा स्याउका बिरुवा रोप्न बिरुवा माग गरेको खड्का बताउँछन्। गत वर्ष फलेका स्याउका बोटमा अहिले फुलफुलेको छ । गत वर्ष भन्दा यस वर्ष बाक्लै फुल फुलेकाले यस पटक स्याउको फल पनि बढी लाग्ने खड्का बताउँछन्।

गत वर्षझैं यसवर्ष पनि स्याउ बिक्रि नगर्ने र हेर्न आउने र स्थानीयबासिहरुलाई खान दिने उनले बताए । आगामी वर्ष देखि व्यवसायीक दृस्टिकोणले बिक्री गरिने खड्काले बताए । गर्मी ठाउँको वातावरणमा फल्ने स्याउ भएपनि हिमाली क्षेत्रको जस्तै स्वादिलो भएकाले सबैले रोयल रेड जातको स्याउ मन पराएका छन् । गतवर्ष स्याउ खाएर स्वाद लिएपछि यस पटक स्याउको बिरुवा रोप्न किसानहरुले चाहेका छन् । यस वर्ष पहिलो पटक ८ सय ५० बिरुवा बिक्री भएको खड्काले बताए ।

तपाईको प्रतिक्रिया