काठ्माडौं, २१ फागुन । तपाईं अचेल कोरोना भाइरसबाट डराइरहनु भएको छ होला । यो स्वाभाविक हो । तपाईं मात्र हैन अहिले विश्व नै कोरोना भाइरसबाट डराइरहेको छ ।

यतिवेला मौसम परिवर्तनको पनि समय हो । यस्तो बेलामा सामान्य रुघाखोकीदेखि ज्वरो पनि आउने हुन्छ । अहिले विश्वमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको लक्षण पनि लगभग यस्तै प्रकारको हुन्छ ।
कोरोनाको प्रकोप फैलिरहेको बेला उस्तै लक्षण देखिने वित्तिकै कतै कोरोनाको त लक्षण हैन भनेर धेरै लाई त्रास पनि बढ्ने गरेको पाइन्छ ।

मौसमी फ्लू संक्रमण हुँदा कोरोना भाइरस हो कि भनेर डराउनेहरु धेरै भएको चिकित्सकहरु बताउँछन् । तर यस्तो लक्षण देखिने वित्तिकै डराउनुभन्दा पनि सावधानी अपनाउन आवश्यक छ । यस्तो बेला नजिकको स्वास्थ्य संस्थामा गएर जाँच तथा परामर्श लिन आवश्यक छ ।

स्वास्थ्य संस्थाको भूमिका
रुघाखोकी लागेको, ज्वरो आएको बिरामी देख्ने बित्तिकै स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु पनि संयम हुन जरुरी छ । कतिपय स्वास्थ्यकर्मीहरु त्यस किसिमका बिरामी आएपछि कोरोना संक्रमित नै आएको जसरी आत्तिने गर्छन् ।

जसले बिरामीमा झन् डर पैदा गर्ने गर्छ । अस्पतालमा परीक्षणका लागि आएका बिरामीप्रति सावधानी र संवेदनशील भएर स्वास्थ्यकर्मीहरुले जाँच तथा परामर्श दिनुपर्ने हुन्छ । स्वास्थ्य संस्था तथा अस्पतालहरुले आफ्नो क्षमता अनुसार सम्भावित कोरोना संक्रमितका लागि छुट्टै उपचार कक्षको तयारी गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा काठमाडौं तथा काठमाडौं बाहिरका अस्पतालहरुले ‘आइसोलेसन वार्ड’ बनाउन थालेका छन् ।

शिक्षण संस्था र शिक्षकको भूमिका
दैनिक व्यापक जमघट हुने क्षेत्र विद्यालय तथा क्याम्पस पनि हो । दैनिकजसो सञ्चार माध्यममा कोरोना भाइरसको बारेमा समाचार आएपछि एकातिर अभिभावक चिन्तित भइरहेका छन् भने अर्कोतिर बालबालिकामा पनि त्यसको असर परिरहेको हुन्छ ।

बालबालिकामा रहेको मनोवैज्ञानिक त्रास हटाउन विद्यालय र शिक्षकहरुको महत्त्थ्वपूर्ण भूमिका हुन्छ । कोरोना भाइरस के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर शिक्षकले बालबालिकालाई सिकाउन सक्छन् । शिक्षकहरुले उनीहरुमा रहेको भय हटाउन यसबारे सावधानी अपनाउने, सतर्क रहने, सरसफाइमा ध्यान दिने विषयमा जानकारी दिनुपर्छ । विद्यार्थीले सिकेको कुरा अभिभावकलाई पनि बताउने हुँदा यसरी अभिभावक र विद्यार्थीमा रहेको मनोवैज्ञानिक त्रास हटाउन सकिन्छ ।

मिडिया र समाजिक सञ्जालको भूमिका

अधिकांश आमसञ्चारका माध्यमहरुले कोरोना भाइरस र त्यसबाट बच्ने सामग्री प्रकाशन प्रशासरण गरिरहेका हुन्छन् । त्यस्ता सामग्रीले पाठकलाई भाइरसबारे बुझ्न सहयोग पुगिरहेको छ । खासगरी युट्युव च्यानलहरुले भने सनसनीपूर्ण हेडलाइन तथा अप्रमाणित तथ्यहरु पनि हाल्ने गरेका हुन्छन् । युट्युवरको काम सनसनी मच्चाउने मात्र हैन । बढी भ्यूज आउने नाममा स्वास्थ्य जस्तो संवेदनशील विषयमा मनगढन्ते सामग्री तयार पार्दा त्यसले जनमानसमा त्रास फैलाउन सक्छ ।

यस्तो बेला सामाजिक जिम्मेवारी बोध गर्दै उनीहरुले अनुभवी चिकित्सकको सल्लाह सुझाव, मानिसहरुमा रहेको त्रास हटाउन मनोचिकित्सकको भनाइ जस्ता सामग्री प्रस्तुत गर्दा सामाजिक जिम्मेवारी पूरा हुन सक्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले हरेक खालका सामाचारको लिंक आफ्नो होमपेजमा भेट्न सक्छन् । विश्वसनीय मिडियाले तयार पारेको सामग्री मात्र भरपर्दो हुन्छ । कतिपय झूटा र भ्रम छर्ने खबर भएका सामाचारका लिंक पनि आइरहेको हुन्छ त्यस्ता सामग्रीलाई त्याग्न आवश्यक छ ।

संक्रमणबाट बच्न आफ्नै भूमिका
नियमित रुपमा साबुन पानीले हात धुने

खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने

यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने

फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने

सभा सम्मेलन, भेला, भिडभाड भएको स्थानमा नजाने

अर्को व्यक्तिसँग कुरा गर्दा नजिकै बस्नुको सट्टा केही दूरी कायम गरेर बोल्ने

सफा मास्कको प्रयोग गर्ने

जंगली तथा घरेलु पशुपंक्षीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने

पशुजन्य मासु÷अण्डा राम्रोसँग पाकेको मात्र खाने

१ सय ४ डिग्रीभन्दा माथि ज्वरो आउने, श्वास प्रश्वासमा अत्यधिक समस्या हुने, रुघाखोकी लाग्ने नोवेल कोरोना भाइरसको मुख्य लक्षणहरु हुन् । यी लक्षणहरु देखिएमा अस्पतालमा उपचारका लागि जानुपर्दछ ।

नेपालमा छैन कोरोना संक्रमण
विश्वका ६० भन्दा बढी देशमा कोरोना संक्रमण फैलिएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु भएको छैन । कोरोनाको आंशकामा उपचारका लागि अस्पताल गएका बिरामी पनि कोरोना नभएको पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमण फैलिन नदिन सरकारले पनि आवश्यक तयारी गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखिएको छ । जहाँ नेपालबाट बाहिरिने र भित्रिने यात्रुहरुको थर्मल स्क्यानर र थर्मल गनबाट स्वास्थ्य जाँच हुने गरेको छ ।

यदि कोरोना संक्रमण भएमा बिरामी भेटिए उपचारका लागि छुट्टै कक्षको स्थापना गरिएको छ । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाललमा कोरोना क्वारेन्टाइनका लागि ४० शैयाको छुट्टै वार्ड बनाइएको छ । कोरोना संक्रमण फैलिएका देशबाट आउनेहरुका लागि उक्त क्वारेन्टाइनमा राख्ने तयारी छ । यता वीर अस्पतालले पनि विरामी उपचारका लागि २ बेड भएको छुट्टै कक्ष बनाएको छ ।
यस्तै प्रदेश १ मा रहेका विभिन्न अस्पतालमा कोरोना क्वारेन्टाइनका लागि २८ शैया तयार पारिएको छ । कोरोनाका शंकास्पद विरामीलाई राख्नका लागि अस्पतालहरुमा छुट्टै वार्ड बनाउने काम भइरहेको छ ।

कोरोना संक्रमणबाट बच्नका लागि डा. रवीन्द्र पाण्डेको यस्तो छ सुझाव
– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
– कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १ सय जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४ लाख ५० हजार व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।

– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने । गाह्रो भएमात्र अस्पताल जाने ।
– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
– सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।
– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन।
– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने ग¥यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्क भन्दा पंजा महत्त्वपूर्ण छ ।
– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट ९कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर ९टेन्ट० आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संगठन, विदेशी स्वयमसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।
– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।
– कोरोना भाइरस विरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।
– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
– यसको रोकथाम हाम्रो हातमा छ । भिडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० प्रतिशत रोकथाम हुन्छ ।

कोरोनासंक्रमणको लागि जोखिम ठाउँहरु
सिनेमा घर, अस्पताल, बिद्यालय र कलेज, सार्वजनिक यातायात, सपिंग मल, व्यस्त गल्ली, तरकारी तथा मासु बेच्ने ठूला स्थानहरु, सभा र जुलुस भएका स्थान, वृद्धाश्रम, होटेल र रेस्टुरेन्ट, रंगशाला, भोजभतेर आदि ।
काम नपरेसम्म यस्ता ठाउँमा जाने नगरौं । जानु परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गरौँ । घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धोएर भान्सा र बैठक कोठामा जाने गरौँ । उपचार छैन, रोकथाम सम्भव छ ।रातोपाटी

तपाईको प्रतिक्रिया

Comments