मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

शान्ति सुब्बा

गौरादह, २० फागुन । दादुरा–रुबेला खोप अभियान–२०७६ अन्तर्गत गौरादह नगरपालिकाको ९ वटै वडाहरुमा भोलि(बुधबार)देखि ९महिना देखि ५ वर्षका बालबालिकालाई दादुरा–रुबेलाको खोप तथा जन्मेदखि ५ वर्षको बालबालिकालाई पोलियो थोपा खुवाइने अभियान चलाइने भएको छ ।

दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन २१ गतेदेखि ३० गते सम्म ९महिना देखि ५ वर्षका बालबालिकालाई सो खोप लगाइने भएको हो । झापाको गौरादह नगरपालिका भित्र ५ हजार ५ सय बालबालिकाहरुलाई दादुरा–रुबेला को खोप लगाइने भएको छ भने, ६ हजार १ सय ९८ जनालाई खोप सँगै पोलियो थोपा खुवाइने गौरादह नगर स्वास्थ्य सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

दादुरा–रुबेला रोग बढ्दो क्रममा रहेकोले बालबालिकाहरुमा सो रोग लाग्न नदिन, बाल मृत्युदर घटाउन र रोगीको संख्या नियन्त्रण गर्नका लागि पनि सो अभियान सञ्चालन हुन लागेको श्रेष्ठले बताएका छन् । गौरादह नगरपालिका भित्र पूर्ण खोप लिने बालबालिका ९९ प्रतिशत र खोप नलगाउने बालबालिका १ प्रतिशत रहेको उनले जानकारी दिए । बसाईंसराई, जनचेतनाको कमी लगायत विभिन्न कारणले बालबालिका खोप लगाउन बाट वञ्चित हुने गरेको श्रेष्ठले बताएका छन् ।

बालबालिकामा दादुराको संक्रमण भएमा ज्वरो आउने, शरीरमा राता विमीरा देखा पर्ने, रुघाखोकीको लक्षण(नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता) देखा पर्ने, रोगीको सम्पर्कमा आएको १०–१२ दिनपछि मात्र दादुराको लक्षण(ज्वरो) देखापर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ । दादुराबाट आँखाको अन्धोपन, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण, कम्पन हुने र यस्ता जटिलताको कारण बालबालिकाको मृत्यु समेत हुन सक्छ । यस्तै रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै विकलाङ्ग हुने जस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।

दादुरा–रुबेला रोगबाट बच्ने एक मात्र उपाय भनेको दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो । यो रोग लागे पछि यसको खास उपचार नभएपनि अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताको उपचार गर्नुपर्दछ । त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ । २०७६/२०७७ मा नियमित खोप मार्फत एक वर्ष मुनिका १ हजार २ सय ९२ बच्चा लाई खोप लगाउने लक्ष्य राखेको छ ।

गौरादह नगर स्वास्थ्य सह संयोजक गोविन्द श्रेष्ठका अनुसार गौरादह नगरपालिका-९ को बैगुन्धुरामा पुष महिनामा ९ जना बालबालिकामा सो रोगको आशंका गरिएकोमा स्वास्थ्य जाँच पछि ५ जना बालबालिकामा मात्र दादुराको संक्रमण देखिएको थियो । पहिलो संक्रमित ६वर्षका बालक आसामबाट सो स्थानमा आउँदा सो बालक बाट नै अरुमा सो रोग सरेको जनाइएको छ । ५ जना संक्रमित बालबालिकाको अवस्था अहिले सुधार भइसकेको बताइएको छ ।

दादुरा–रुबेला खोप अभियानका लागि १० जना स्वास्थ्यकर्मी र १ सय जना स्वयंसेवकहरु परिचालन गर्ने तयारी भएको श्रेष्ठले जानकारी दिए । गौरादह नगरपालिका भित्र ४६ वटा खोपकेन्द्र तोकिएको छ । झापामा पहिलो चरणमा फागुन १० गतेबाट २० गतेसम्म माइपूर्वमा यो अभियान सञ्चालन गरि सम्पन्न भइसकेको छ भने, दोस्रो चरण अभियान अन्तर्गत माई पश्चिममा २१ गतेदेखि ३० गते सम्म सञ्चालन हुने जनाइएको छ । यसअघि नियमित रुपमा दादुरा–रुबेला खोप लगाएको या नलगाएको भएपनि यो अभियान अन्तर्गत पूनः यो खोप लगाइने श्रेष्ठले बताएका छन् । हरेक चार-चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया