Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

गौरीगंज, १६ फागुन । गौरीगंज गाउँपालिकाको कार्यालयमा गाउँ समाजमा हुने विवादलाई समुदायमै सहजरूपमा मिलाउन सामुदायिक मेलमिलाप आधारभुत तालिम संचालन गरिएको छ।

गौरीगंज गाउँपालिकाको न्यायिक समितिले संचालन गरेको तालिममा गाउँपालिका भित्र रहेका ४५ जना मेलमिलापकर्ताहरु सहभागी भएका छन। गौरीगंज गाउँ पालिकाको सभाहलमा संचालन गरिएको तालिममा ७ दिन प्रशिक्षण दिईने न्यायीक समिति संयोजक दिपिन्द्र थापाले जानकारी गराए। सामुदायिक मेलमिलाप आधारभुत प्रशिक्षण तालिममा स्थानिय स्तरमा परेका उजुरीहरूलाई मेलमिलापको आधारमा गरिने न्याय सम्पादनमा सहजता ल्याउन न्यायसमितिका सदस्यहरूलाई प्रशिक्षण दिएको संयोजक थापाले बताए।

नेपाल वार एशोसिएसन झापाका पुर्व अध्यक्ष तथा अधिवक्ता अमृत बुढाथोकी र अधिवक्ता देवी निरौलाले न्याय सम्पादनमा आईपर्ने समस्याको पहिचान र समाधानका उपायका बारेमा सहजिकरण गरिरहेका छन्। सहजिकरणका क्रममा विवाद के हो? मेलमिलाप के हो? मेलमिलाप कर्ताका गुणहरु के के हुन् ?सहजिकरण गर्ने सीप, मेलमिलापका चरणहरु लगायतका विषयहरुमा प्रशिक्षण दिईरहेका छन।

गौरीगंज गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले समाजमा हुने सामान्य विवाद समाजमानै मिलाउने सीप हाँसिल गराउन सबै वडामा गठन गरिएको मेलमिलाप समितिका पदाधिकारीहरुलाई तालिम आयोजना गरिएको बताए। तालिमको उद्घाटन कार्यक्रममा न्यायिक समितिका संयोजक दिपिन्द्र थापाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।न्यायिक समितिका सदस्य राजेन्द्र ताजपुरियाले स्वागत गरेको कार्यक्रमको सञ्चालन न्यायिक समितिकी सदस्य हेमा आचार्यले गरेकी थिईन । तालिम फागुन १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया