Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १३ फागुन । विशेष अभियानमार्फत तल्ला तहका कार्यकर्ता कहाँ पुग्ने योजनासँगै नेकपाले पार्टी सदस्यताका लागि ११ बुँदे कार्यक्रम बनाएको छ । कार्यक्रममा सदस्यता नवीकरणदेखि तल्ला तहका कमिटी निर्माणसम्म र प्रशिक्षणदेखि आचारसंहिता लागूसम्म छन् ।

यसबाहेक सरकारका कामको सकारात्मक प्रचार प्रसार र विकास निर्माणका योजनामा जुट्नेसम्मका कार्यक्रम नेकपाले ल्याएको छ । पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट जारी ‘विशेष परिपत्र – ८’ मा पार्टी सदस्यहरुका लागि कार्यक्रम सुनिश्चत गरिएका छन् ।

फागुन ११ गते जारी ११ बुँदे परिपत्र अनुसार ‘केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र निजहरुलाई विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग’ गर्नुपर्नेछ ।

यसैगरी ‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरु र जनवर्गीय, पेसागत तथा सामुदायिक संगठनमा आबद्ध भई काम गरिरहेका संगठित सदस्य तथा साधारण सदस्यहरुले निर्धारित समयभित्र आफ्नो सदस्यता कायम रहेको सम्बन्धित कमिटीमा नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गर्ने । नवीकरणपछि अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने,’ परिपत्रमा निर्देशन छ ।

जिल्ला कमिटी मातहतका सबै संगठित सदस्यहरु र साधारण सदस्यले जिल्लाबाट खटिएको कार्यदलसमक्ष बाँकी रहेको सदस्यता शुल्क र लेबी बुझाई साधारण सदस्यता वा संगठित सदस्यता नवीकरण गर्ने अर्को कार्यक्रम तय गरेको छ ।

यसबाहेक नवीकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई २०७७ असार मसान्तभित्र पार्टीको टोल वा प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गर्ने योजना छ ।

पार्टीको वडा कमिटी अन्तरगत आवश्यकता अनुसार एकभन्दा बढी टोल वा प्रारम्भिक कमिटी निर्माण गर्न सकिने र कारणबस त्यस अवधिभित्र संगठित गर्न नसकिएमा अर्को १५ दिनको अवधि थप्न सकिने परिपत्रमा छ ।

पार्टीका साधारण सदस्यहरुलाई टोल वा प्रारम्भिक कमिटीअन्तर्गत पार्टी सेलमा संगठित गर्ने, एउटा टोलमा आवश्यकता अनुसार एकभन्दा बढी पार्टी सेल निर्माण गर्न सकिने, सदस्यता नवीकरण लगत्तै संगठित सदस्य र साधारण सदस्यहरुलाई प्रशिक्षण गर्नका निम्ति पार्टी स्कुल विभागले प्रत्येक प्रदेश र जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने नेकपाको परिपत्रमा छ ।

यससँगै प्रशिक्षक प्रशिक्षणका लागि उपयुक्त व्यक्तिहरुलाई आगामी वैशाख १ गतेदेखि सात प्रदेश र ७७ जिल्ला कमिटीमा खटाउने, केन्द्रीय पार्टी स्कूल विभागले प्रशिक्षक प्रशिक्षणका लागि प्रशिक्षक खटाउन नसकेको अवस्थामा प्रदेश कमिटी वा अन्यत्रबाट उपयुक्त व्यक्तिलाई खटाउने पनि परिपत्रमा उल्लेख छ ।

प्रशिक्षक प्रशिक्षणपश्चात् पार्टी स्कुल विभागले केन्द्रीय कमिटी, केन्द्रीय निकाय र प्रदेश कमिटीका सदस्यहरुको संयोजकत्वमा प्रशिक्षण कार्यदल निर्माण परिचालित गर्ने, प्रशिक्षण कार्यदलहरुले टोल वा प्रारम्भिक कमिटीहरुमा रहेका संगठित सदस्य र पार्टी सेलमा रहेका साधारण सदस्यहरुलाई छुट्टाछुट्टै प्रशिक्षण दिने नेकपाको योजना छ ।

टोल वा प्रारम्भिक कमिटी र पार्टी सेलमा संगठित व्यक्तिहरुलाई सम्बन्धित टोलका जनताबीच पार्टीको नीति र विचार प्रचार–प्रसार गर्न खटाउने अर्को योजना छ । यसबाहेक सबै तहका पार्टी कमिटी र पार्टीका संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने अर्को योजना छ । हालै प्रधानमन्त्री एवं पार्टी अध्यक्षले आचारसंहिता विपरित जन्मदिवस मनाएको भनेर
नेकपामा आलोचना भएको छ ।

पार्टीका सबै तहका कमिटी तथा सदस्यहरुले पार्टी र पार्टी नेतृत्वको सरकारका सम्बन्धमा सकारात्मक प्रचार गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने, जनसरोकारका काम र विकास–निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहने र जनतामा सकारात्मक ऊर्जा पैदा हुने गरी आशावादी विचारहरु प्रस्तुत गर्ने नेकपाका पार्टी सदस्यहरुलाई जिम्मा दिइएको छ ।

यसअघि नेकपाले विशेष परिपत्र – ७ जारी गरेर ०७६ चैत मसान्तभित्र पार्टीका संगठीत सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्ने र ०७७ असार मसान्तभित्र नवीकरण भएका सबै संगठित सदस्यतथा साधारण सदस्यहरुलाई पार्टी कमिटी र पार्टी सेलमा संगठित गरिसक्ने निर्देशन दिएको छ ।

नेकपाले अहिले पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सुरु गरेको छ । यसै अनुसार पार्टी सदस्यहरुको नवीकरण गर्ने उसको योजना थियो । आठ लाख पार्टी सदस्य रहेको नेकपाको दावी छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया