Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं,१ फागुन । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ ।

विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो ।

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

उनका अनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो ।

थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए । उहाँले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए । त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए। त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ ।रासस

तपाईको प्रतिक्रिया