Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १३ माघ । नोवेल कोरोना भाइरस परीक्षण नेपालमै सुरू भएको छ । भाइरस अनुसन्धान गर्ने संस्था ‘सीएमडीएन’सँग केही रिएजेन्ट केमिकल लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबारबाट परीक्षण सुरु गरेको हो ।

कोरोना संक्रमणको आशंका गरी हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन बिरामीको नमुना संकलन गरी प्रयोगशालाले परीक्षणबाट सुरु गरेको प्रयोगशालाकी निर्देशक डा.रुणा झाले बताइन्। २४ घण्टाभित्र परीक्षणको रिपोर्ट आइसक्ने उनले बताइन्। आकस्मिक सेवाका लागि अहिले प्रयोगशालालाई २४ घण्टै खुल्ला राखिएको छ।

संस्थाले प्रयोगशालालाई सय वटा नमुना परीक्षण गर्न सकिने केमिकल सहयोग गरेको छ। प्रयोगशालाले आफैले केमिकल खरिद गरेको छैन। खरिद गरे पनि फिर्ता गर्ने सम्झौतामा संस्थाबाट केमिकल लिइएको डाक्टर झाले बताइन्।

नमुना परीक्षणका लागि प्रयोगशालाले जर्मनको कम्पनीबाट रिएजेन्ट केमिकल खरिद गर्ने प्रक्रियाअघि बढाइरहेको छ। टेण्डर प्रक्रियाबाट ढिलो हुने भएकाले हाल संस्थासँग पैँचो मागेर नमुना परीक्षण गर्न लागिएको उनले जानकारी दिइन्। इन्फ्लुएन्जाको नमुना परीक्षण हुँदै आइरहेको विशेष प्रयोगशाला (बीएसएलटु ल्याब) बाटै कोरोनाको परीक्षण भइरहेको छ।

नमुना परीक्षणका गर्न स्वास्थ्यकर्मीलाई तालिम प्रयोगशालाले राजधानीका केही सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई नमुना संकलन व्यवस्थापनसम्बन्धी तालिम दिने भएको छ। पाटन अस्पताल ग्राण्डी अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नर्भिक अस्पताल,त्रिवि शिक्षण अस्पताल, वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी गरेको छ। तालिमबाट उनीहरूले बिरामीको रगत र र्‍याल नमुना व्यवस्थापन गर्नेबारे सिक्‍नेछन्।

मंगलबार (भोलि) उनीहरूलाई स्वास्थ्य सेवा विभागमै बोलाएर तालिम दिइने डा. झाले बताइन्। अहिले राजधानीका अस्पतालका स्वास्थ्यकर्मीलाई तालिम दिइने र पछि राजधानीबाहिरका अस्पतालका स्वास्थ्यकर्मी पनि तालिम हुने उनले बताइन्।

नमुना परीक्षण गरिदिनका लागि राजधानीका विभिन्न अस्पतालले प्रयोगशालासमक्ष निवेदन पेस गरेका छन्। प्रयोगशालासँग हाल सिमित रिएजेन्ट केमिकल भएको निवेदन गरेका सबैको नमुना परीक्षण गर्न नसकिने डा. झाले बताइन्। कुन अस्पतालको नमुना संकलन लिने भनेर प्रयोगशालाले छुट्टैखाले ढाँचा समेत तयार गरेको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया