शुक्रबार, चैत्र १०, २०७९
Friday, March 24, 2023

शान्ति सुब्बा
गौरादह, १२ माघ । ६७ औं विश्व कुष्ठरोग दिवस आइतबार(आज)विविध कार्यक्रम गरि मनाइएको छ । “कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान” भन्ने सन्देश सहित झापाको कमलगाउँपालिका–६ स्थित लखनपुरमा कुष्ठरोग प्रभावित र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरि मनाएको छ ।

नेपाल कुष्ठरोग संगती झापा र कमल जनस्वास्थ्य कार्यालय तोपगाछीले आयोजना गरेको कार्यक्रममा स्वयं सहायता कृषक समूहको समन्वयमा साझा कपडा बैंक कमलको आर्थिक सहयोगमा १५ जना कुष्ठरोग प्रभावित महिला पुरुषहरुलाई न्यानो कपडा श्वेटर र ट्रयाक सुट वितरण गरेको थियो । ९ हजार ८ सय ५० को लागतमा न्यानो कपडा वितरण गरिएको साझा कपडा बैंकका अध्यक्ष कृष्ण बहादुर भण्डारीले जानकारी दिए ।

कुष्ठरोग सम्बन्धी जानकारी दिन यहि माघ १० गते ७ वटै वडा कार्यालयमा जनचेतना मूलक सन्देश सहितको घरदैलो कार्यक्रम तथा प्रचार प्रसार कार्यक्रम गरिएको स्वयं सहायता कृषक समुह का अध्यक्ष टंक प्रसाद बरालले जानकारी दिए । घरदैलो अभियानका क्रममा १ जना नयाँ कुष्ठरोगी समेत फेला परेको नेपाल कुष्ठ रोग संगती झापा जिल्ला कार्यक्रम प्रमुख डि.बि गुरुङले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङक हेर्दा कमलगाउँपालिका भित्र मात्रै नयाँ थपिएको कुष्ठरोगी सँगै औषधी सेवन गर्दै गरेका १२ जना र कुष्ठ प्रभावित ३२ जना रोगी भेटीएको गुरुङले जानकारी दिए । जसअनुसार गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/२०७६ को तथ्याङ्क अनुसार कुष्ठरोगीको संख्यामा कमी आएको गुरुङले जनाएका छन् । झापा जिल्ला भित्र १ सय ६६ जना औषधी सेवन गर्दै गरेका कुष्ठरोगी रहेको नेपाल कुष्ठ रोग संगती झापा जिल्ला कार्यक्रम प्रमुख डि.बि गुरुङले जानकारी दिए ।

स्वयं सहायता कृषक समुहका अध्यक्ष टंक प्रसाद बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कमलगाउँपालिका का वडा नं. ६ का वडाध्यक्ष नरेन्द्र भट्टराई प्रमुख अतिथि रहेको कार्यक्रममा जनस्वास्थ्य का प्रमुख बाबुराम थुलुङ्ग, नेपाल कुष्ठरोग संगती झापा का कार्यक्रम प्रमुख डि.बि गुरुङ, कमलगाउँपालिका का खानेपानी अध्यक्ष उषा भण्डारी लगायतको सहभागिता रहेको थियो । स्वयं सहायता कृषक समुहका सचिव लंक बहादुर खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया