Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ९ माघ । जटिल क्षयरोगका बिरामीले उपचारका लागि राजधानी धाउन नपरोस् भनेर देशका सातै प्रदेशमा क्षयरोग उपचार रेफरल केन्द्र निर्माण गरिने भएको छ । जटिल क्षयरोगका बिरामीले उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले आगामी दुई वर्षभित्र सबै प्रदेशमा रिफरल केन्द्र बनाउन लागेको हो ।

यसै योजनाअनुसार सुदूरपश्चिम प्रदेशमा केन्द्र उद्घाटन भइसकेको छ । त्यहाँ भवन निर्माण भइसकेको भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘प्रदेश सरकार, गैरसरकारी संस्था र केन्द्रीय सरकारको सहकार्यमा रेफरल केन्द्र बन्नेछन्, यस्ता केन्द्रबाट बिरामीले आवाससहितको उपचार सेवा पाउनेछन्,’ उनले भने ।

यसका लागि केन्द्रले प्रदेशलाई उपकरण दिने, औषधि दिने र आर्थिक सहयोग गर्ने उनले बताए । भक्तपुरको क्षयरोग केन्द्रलाई पनि रेफरल केन्द्र बनाउन एक सय शैयाको अस्पताल निर्माण हुँदै छ । कालीमाटीस्थितनेपाल क्षयरोग निवारण संस्था पनि रेफरल केन्द्रमा परिणत हुने राजभण्डारीले बताए ।

सरकारले हालसम्म जटिल क्षयरोगका बिरामीलाई होस्टल (डीआरहोम) मा राखेर औषधि खुवाउने र परामर्श दिने गरिरहेको थियो । क्षयरोगको विभिन्न टेस्ट गर्न निःशुल्क औषधि खानका लागि घरबाट धाइरहन नपरोस् भनेर सरकारले बिरामीलाई होस्टलमा राखेर उपचार गरिरहेको थियो । होस्टल सेवा बन्द गरेर ठूला रेफरल केन्द्रमा परिणत गरिने डा. राजभण्डारीले बताए । रेफरल केन्द्रबाट बिरामीले छातीरोग विशेषज्ञ चिकित्सक सेवा पाउनेछन् ।

तीनवटा प्रदेशमा रेफरल ल्याब
बहुऔषधि प्रतिरोध (एमडीआर) क्षयरोग पहिचानका लागि बिरामीले केन्द्र धाउने समस्या पनि लामो समय रहनेछैन । सरकारले कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, प्रदेश १ मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकीमा पोखरास्थित क्षेत्रीय क्षयरोग केन्द्रमा यस्ता ल्याब निर्माण भइसकेको छ भने सुदूरपश्चिममा निर्माण भइरहेको छ । यस्ता ल्याबबाट बिरामीको शरीरमा कतिवटा औषधिको प्रतिरोध छ पत्ता लगाउने व्यवस्था हुने निर्देशक राजभण्डारीले बताए ।कान्तिपुर

तपाईको प्रतिक्रिया