Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठ्माडौं, २१ पुष । जाडो याममा औंला सुन्निने, रातो हुने, चिलाउने र घाउ नै हुने समस्या धेरैलाई देखिन्छ । यस्तो समस्यालाई चिकित्सकीय भाषामा पर्नियो ९वा चिलब्लेन भनिन्छ । विशेष गरेर महिलाहरुमा यो समस्या धेरै देखिे गरेको छ । कारण हो धेरै पानीसँग खेल्नु वा चल्नुपर्ने स्थिति ।

४० वर्षसम्मका महिलाहरुमा बढी देखिने चिलब्लेन चिसोको कारणले हुने गर्छ । यो समस्या बालबालिका र बृद्धबृद्धाहरुमा पनि देखिने गरेको छ ।

चिसो पानी चलाइरहने, चिसोमा काम गर्नेहरुमा यस्तो समस्या धेरै देखिने धुलिखेल अस्पतालका वरिष्ठ छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् ।

यो समस्या सँधै चिसो भइरहने ठाउँमा बस्नेलाई भन्दा मौसमी चिसो हुने ठाउँमा बस्नेहरुमा बढी देखिन्छ । जस्तोः हिमाली भेगको दाँजोमा पहाड र तराइमा बढी देखिने गरेको डा. कर्ण बताउँछन् ।

डा. कर्ण भन्छन्, ‘यो चिसोप्रति मानिसको शरीरको असामान्य प्रतिक्रिया हो । यो समस्या शरीरका खुल्ला रहने भागहरु जस्तोः हात, खुट्टा, मुख आदिमा बढी देखिन्छ । चिलब्लेनको समस्या भएमा सुन्निने मात्रै होइन रातो हुने, चिलाउने र घाउ नै हुन सक्ने र यो बढेमा संक्रमणको जोखिम पनि हुन सक्छ ।’

औंला सुन्निनु चिलब्लेन मात्र नभएर बाथको सुरुको अवस्था पनि हुन सक्छ त्यसैले यसबारे विरामी सचेत हुन जरुरी छ । हरेक चिसो मौसममा यस्ता समस्या दोहोरिएमा भने तुरुन्त चिकित्सकको सल्लाह लिनु पर्दछ ।

औंला सुन्निनुका कारणहरु

चिसोका कारण मानिसको शरीरका रक्तनलीहरु साँघुरिन्छ । स्वस्थ्य मानिसको शरीरको संयन्त्रहरु रक्तनलीहरु खुम्चिएपछि वा सांघुरिएपछि आफै फैलिने खालको हुन्छ । तर साँघुरिएको रक्तनलीहरु पूर्ववत स्थितिमा फैलिएन भने त्यस ठाउँमा रक्तसञ्चार राम्रो हुन पाउँदैन । रक्तनलीहरु खुम्चिएपछि र राम्रो रक्तसञ्चार हुन नपाएपछि विषालु तत्वहरु एक ठाउँमा जम्मा भइराख्छन् जसले गर्दा सुन्निने, पोल्ने अनि चिलाउने हुन्छ । औंला सुन्निने (चिलब्लेन)को समस्या हुनुमा अन्य कारणहरु पनि छन् स्

–वंशानुगत कारण

–रक्तनली सम्वन्धि रोगहरु (मधुमेह, धुम्रपान मध्यपानका कारण हुने रोग, रगतमा चिल्लने पदार्थको मात्रा धेरै हुनु)

–कम तौल भएका तथा पोषण तत्वको कमी हुनेहरुमा यस्तो समस्या आउने सम्भावना बढी हुन्छ ।

–डाइटिङ गर्नेहरमा पनि यो समस्या देखिन्छ

–हर्मोनको परिवर्तनका कारण

–रक्तनलीलाई खुम्च्याउने औषधीहरुको सेवन

–चिसो पानी धेरै चलाउँदा

–घाम नलाग्ने कोठामा बस्नेहरुमा

चिलब्लेनबाट शरीरका सबै अंग प्रभावित हुँदैनन् । केही अंगहरु मात्र प्रभावित हुन्छन् । विशेष गरेर हात खुट्टाका औंलाहरु, औंलाका पछाडि र छेउछाउका भाग, कुर्कुच्चा, खुट्टाको तल्लो भाग, वोसो जमेको भाग, नाकको टुप्पो, कानको लोती आदि भाग सुन्निने, चिलाउने र रातो हुने हुन्छ ।

लक्षणहरु

यो समस्या भएमा सुन्निने चिलाउने, रातो डावर आउने, पोल्ने, फोका हुने र घाउ नै हुने गर्छ । सुन्निएर घाउ नै भएमा दुख्ने गर्छ । रातो भाग निलो हुँदै पनि जाने गर्छ । कहिले काहीँ फोकाहरु लामो समयसम्म रहन सक्छ ।

रोकथाम र उपचार

चिलब्लेनको समस्या आउन नदिन मुख्यत चिसोबाट बच्नु पर्छ । यसमस्या आइहालेमा हातखुट्टालाई चिसो हुनुबाट बचाउनुपर्छ । धुम्रपान ९निकोटिन०ले पनि रक्तनली खुम्च्याउने भएकाले यस्ता समस्या भएका मानिसले त धुम्रपान गर्नै हुँदैन । यस्ता समस्या आउन नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । जस्तोः

–घर अथवा कोठालाई न्यानो राख्ने, पूर्णरुपमा शरीर छोप्ने गरी कटन अथवा नरम खालको कपडा लगाउने गर्नुपर्छ ।

–हातखुट्टा छोप्न पन्जा अनि मोजाको प्रयोग गर्ने । तर धेरै कस्सिएको पन्जा अनि मोजा भन्दा हल्का खुकुलो लगाउने ।

–कतै हिडनु अगाडी हातका औंला अनि खुट्टाको व्यायाम गरेर निस्कने ।

–हात खुट्टालाई मनतातो पानीमा नुन राखी डुवाउने ।

–धेरै पानीमा काम गर्नुपरेमा पानी नपस्ने पन्जाको प्रयोग गर्ने ।

–घाममा सेकाउने ।

सामान्यतः यस्तो समस्या देखिएको एक सातादेखि तीन साताभित्रमा निको हुन्छ । निको भएन भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

डा. कर्ण यस्तो समस्या भएमा हिटरको नजिक नवस्न सल्लाह दिन्छन् । हिटर नजिक बस्दा सुन्निएको भागमा असर गर्न सक्ने भएकाले अलि टाढा बस्ने । मनतातो पानीमा डुवाएर सुख्खा पार्ने र भेसलिन, लोसन लगाएर पन्जा, मोजा लगाउनु राम्रो हुन्छ ।

कहिले काही समस्या बढेर संक्रमणको जोखिम पनि हुन्छ । संक्रमण भयो भने घाउ हुने वा छाला कडा भएर अरु समस्या निम्तिन सक्ने भएकाले छाला रोग विशेषज्ञको सल्लाह लिन चिकित्सकहरु सुझाउँछन् ।रातोपाटी

तपाईको प्रतिक्रिया