Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी

काठ्माडौं, १५ पुष । थुप्रै मानिसले तपाईंलाई अण्डा खानुका फाइदा र बेफाइदाबारे बताएका होलान् ।

तर के तपाईंलाई राम्रो स्वास्थ्यका लागि दिनमा कतिवटा अण्डा खानुपर्ने र यसलाई पकाउने सही तरिका के हो भन्ने बारे थाहा छ ?

चीनमा करिब १० लाख मानिसमाथि गरिएको एक अनुसन्धान अनुसार दिनमा एउटा अण्डा खाँदा मुटु रोगको खतरालाई कम गर्न सकिन्छ ।

विशेषज्ञले राम्रो स्वास्थ्यका लागि अण्डा खाने सल्लाह दिन्छन् । सँगसँगै यो पनि जानकारी दिन्छन् कि धेरै अण्डा खाँदा स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।

कति अण्डा खाने ?

धेरैजसो डाक्टरले खानामा अण्डा समावेश गर्नुपर्ने सल्लाह दिन्छन् किनभने अण्डामा अत्यधिक मात्रामा पोषक तत्व पाइन्छन् । यसमा भिटामिन ए, डी, बी र बी१२ का साथै लूटिन र जिएजेनथीनजस्ता पौष्टिक तत्व पाइन्छन् । यी तत्व आँखाका लागि निकै फाइदाजनक हुन्छन् ।

ब्रिटेनका डायटिशियन डा। फ्रेंकी फिलिप्सका अनुसार दिनमा एउटा वा दुईवटा अण्डा खान सकिन्छ ।

उनी भन्छिन्, ‘धेरै अण्डा खाँदा केही डराउनु पर्दैन । तर कुनै पनि खानेकुरा अत्यधिक खाँदा अन्य खानेकुराबाट प्राप्त गर्ने पौष्टिक तत्वबाट बञ्चित हुन्छौं भन्ने कुरा ध्यानमा राख्नुपर्छ । ’

त्यसकारण डाइटिशियनले पौष्टिक तत्व खान सल्लाह दिन्छन् ।

‘अण्डा प्रोटिनको राम्रो स्रोत हो तर हामीले याद गर्नुपर्ने कुरा के छ भने हामीले अन्य खानाबाट पहिले नै प्रोटिन पाइसकेका हुन्छौं । आवश्यकता भन्दा दुई वा तीन गुणा बढी प्रोटिनले मृगौलामा असर पुर्याउँछ ।’

अण्डामा जब कोलेस्ट्रोल भएको प्रमाण भेटियो तब ब्रिटिश हार्ट फाउन्डेशनले सन् २००७ मा एक हप्तामा तीनवटा अण्डा खाने सल्लाह दिएको थियो ।

कोलेस्ट्रोलः

नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्ट्रोल पाइए पनि त्यसको मात्रा हाम्रो रगतमा सेचुरेटेड फ्याटबाट आएको कोलेस्ट्रोलभन्दा कम हुन्छ ।

अर्को शब्दमा भन्नुपर्दा अण्डाको कोलेस्ट्रोल ठूलो समस्या होइन । सेचुरेटेड फ्याटबाट बनेको कोलेस्ट्रोलले ठूलै समस्या निम्त्याउँछ ।

हार्ट युकेका अनुसार एक अण्डामा करिब ४/६ ग्राम अर्थात् एक चम्चा फ्याट हुन्छ । तर यसको एक चौथाई भागमात्र सेचुरेटेड हुन्छ । अर्थात्, अण्डाले हाम्रो शरिरको कोलेस्ट्रोल स्तरमा धेरै असर पार्दैन ।

हो, यदि अण्डामा क्रिम वा बटर मिसाउँदा यो भिन्न कुरा भयो ।

साल्मोनेला ब्याक्टेरियाः

ब्रिटेनकी पूर्व स्वास्थ्यमन्त्री एडविना कुरीले सन् १९८८ को डिसेम्बरमा ब्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनेला ब्याक्टेरिया हुने जानकारी दिइन् ।

यी ब्याक्टेरियालाई स्वास्थ्यका लागि निकै खतरनाक बताइएको छ । त्यसकारण उनको बयानले ब्रिटेनमा खैलाबैला मच्चायो ।

त्यसपछि एडविनाले आफ्नो पदबाट राजीनामा दिनु परेको थियो ।

यद्यपी, त्यतिबेला अण्डामा साल्मोनेलाका केही समस्या पक्कै थिए । सन् १९९० सम्म अण्डाको उत्पादन गर्नेहरुले एक खोप कार्यक्रम सुरु गरेका थिए ।

त्यसको तीस वर्षपछि ब्रिटेनको अण्डा दुनियाँमा सबैभन्दा सुरक्षित छन् – कम्तीमा पनि साल्मोनेलाको मामलामा त पक्कै ।

त्यहाँको बजारमा पाइने धेरैजसो अण्डामा अब लायन मार्क लगाइएको हुन्छ जसको अर्थ अण्डा दिने कुखुरालाई सोल्मोनेलाबाट बच्ने सूई दिइएको छ ।

गत वर्ष मात्रै लायन मार्क अण्डालाई गर्भवती महिला र बच्चाका लागि सुरक्षित घोषित गरिएको थियो ।

विशेषज्ञका अनुसार अब अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा न्यून छ । त्यसकारण डराउनु पर्ने कुरा छैन ।

अण्डालाई कसरी पकाउने ?

जहाँसम्म अण्डालाई पकाउने कुरा छ, यसलाई निकै साधारण तरिकाले पकाउनुपर्छ वा उसिनेर खानुपर्छ ।

धेरैजसो डाइटिसियनका अनुसार अण्डालाई तेलमा पकाउनु हुँदैन किनभने यसो गर्दा यसमा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्ने गर्छ ।

काँचो र हल्का रुपमा पकाएको अण्डा, जस्तै मायोनिस र आइक्रिसमा राखिन्छ, त्यो तरिका सही हुन्छ ।

तरपनि यदि तपाईंलाई फुड पोइजनिङको डर छ भने अण्डालाई राम्ररी पकाएर खान सक्नुहुन्छ ।

अण्डालाई कसरी भण्डार गर्ने ?

फुटेको अण्डा कहिले पनि नकिन्नुहोस् किनभने यसमा धुलो वा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ ।

बीबीसी गुड फुडले दिएको सल्लाह अनुसार अण्डालाई फ्रिजमा छोपेर राख्नुपर्छ ।

अण्डालाई कहिले पनि फ्रिजको ढोकामा राख्नुहुँदैन । यसलाई चिसो बनाइराख्न फ्रिजको मेन बडीमा नै राख्नुपर्छ ।

काँचो अण्डाको सेतो भागलाई डब्बामा राखेर तीन हप्तासम्म फ्रिजमा स्टोर गरेर खान सकिन्छ जबकी त्यसको पहेंलो भागलाई तीन दिनसम्म खान सकिन्छ । पहेंलो भागलाई सुख्खा हुन नदिन त्यसमा थोरै पानी हाल्नुहोस् र प्रयोग गर्ने बेला उक्त पानी फ्याँकिदिनुहोस् ।

अण्डा फ्रेश छ छैन भनेर परिक्षण गर्ने तरिकाबारे पनि धेरैलाई थाहा होला । चिसो पानी राखिएको एउटा कचौरा लिनुहोस् र त्यसमा अण्डा हाल्नुहोस् । यदि अण्डा डुब्यो भने त्यो फ्रेश हुन्छ र यदि डुबेन भने त्यो पुरानो हो ।

कुखुराले अण्डा पारेको २८ दिनसम्म त्यो खान मिल्छ ।

अण्डाको एलर्जी ?

कोहीलाई अण्डाको एलर्जी पनि हुन्छ । पाँच वर्षमुनीका बालबालिकालाई यस्तो समस्या देखापर्छ ।

अण्डाको एलर्जीका केही लक्षणः

– मुख वरिपरि रातो हुनु र सुन्निनु

– पेट दुख्नु

– बान्ता हुनु

तर यस्ता रियाक्सन घातक हुँदैनन् । यद्यपी, एलर्जी भएपछि डाक्टरको सल्लाह लिनुपर्छ ।

तपाईको प्रतिक्रिया